२ जेष्ठ २०८१, बुधबार । May 16, 2024

मुख्य खबर

सडकमा अलपत्र पर्नेको संख्या बढ्दै



ललितपुर, १८ भदौ । रामेछाप जिल्ला कुम्गुस्थलीका विनोद सन्तान र सम्पति दुवै भएर पनि एक्लो जिन्दगी बिताउन बाध्य हुनुहुन्छ ।

झण्डै ५० वर्ष उमेरका उहाँ तीन वर्षसम्म रातोपुलमा मागेर गुजारा गर्नुहुन्थ्यो । अहिले उहाँ एउटा संस्थामा आश्रय लिइरहनुभएको छ । उहाँका मिर्गाैलाले काम नगर्ने भएको छ तैपनि उहाँको उपचार हुनसकेको छैन । संस्थाले विभिन्न माध्यमबाट उहाँकी छोरीको खोजी गरेको छ । एक÷दुई दिनमा लिन आउँछु भनेर गएका छोरीज्वाइँ एक महिना बित्दासमेत फर्किएका छैनन् । उहाँ आफैंँ पनि बरु पाटी फर्कर्ने तर सन्तानसँग नफर्कने बताउनुहुन्छ ।

नेपाल र भारतका ठूला होटलमा काम गर्नुभएका विनोद रोग बढ्दै जाँदा असह्य हुनुभयो । सन्तानको माया र स्याहार चाहिने उमेरमा बेवास्ता गरिएपछि मन मरेर उहाँ सडकमा पुग्नुभयो । युवाको एउटा टोलीले उहाँलाई उद्धार गरेर मानवसेवा आश्रम पु¥यायो ।

रोगसँग लडिरहनुभएका उहाँ अहिले पनि उपचार पाएमा पहिलेको जीवनमा फर्कने आशा गर्नुहुन्छ । ‘कुक’ का रुपमा काम गरेर जीविकोपार्जन गर्ने इच्छा उहाँमा भएको उहाँको उद्धार गर्ने समाजसेवी दुर्गानाथ दाहाल बताउनुहुन्छ । दाहाल भन्नुहुन्छ, “महँगो पर्ने भएकाले उहाँको उपचार गर्न भने सकिएको छैन ।”
विनोद जस्तै सन्तान भएर पनि नवलपरासीका हरि सुवेदी एक्लो हुनुभएको छ । दुई छोरा र एक छोरीका पिता उहाँ कडा खालको मानसिक रोगबाट ग्रस्त हुनुन्छ । उहाँको रोगकै कारण श्रीमतीले अर्कासँग विवाह गरिन् । काठमाडौँमै रहेकी छोरीले केही वर्ष हेरे पनि अहिले वास्ता गरेकी छैनन् । विदेशमा रहेका छोरा अहिले स्वदेश फर्किएका छन् । तैपनि हेर्ने अवस्था छैन । उहाँलाई छोरीले पशुपतिस्थित वृद्धाश्रम पु¥याएकी थिइन् । उहाँको ५३ वर्ष उमेर कम भएको भन्दै वृद्धाश्रमले आश्रम पठाएको हो । परिवारमा सबै भए पनि उहाँलाई परिवारमा फर्काउन सकिने अवस्था नभएको आश्रमले बताएको छ ।

विभिन्न कारणले परिवार छाडेर बाँच्नका लागि सडकमा पुग्नेको संख्या बढ्दो छ । पारिवारिक बेमेल नै सडकमा पुग्नाको मुख्य कारण बनेको छ । सडकमा मागेर सडक पेटी वा पाटीमा रात कटाउनेमा सबैभन्दा धेरै ज्येष्ठ नागरिक छन् । कतिपय सन्तान नभएर त कति भएका सन्तानले बेवास्ता गर्दा सडकमा मागेर जीवन धानिरहेका छन् ।

लगनखेलमा मानसिक अस्पताल भएका कारण लगनखेल, सातदोबाटो, जावलाखेललगायत स्थानका पाटीमा मानसिक रोग लागेर सडकमा पुगेका धेरै भेटिन्छन् । मानवसेवा आश्रम नामक संस्थाले सडकका धेरैको उद्धार गरिरहेको छ तर सडक खाली नै गर्न भने सकेको छैन ।

सडकमा मागेर जीवन धान्नेमा कतिपय सन्तान नै नभएका ज्येष्ठ नागरिक छन् । उमेरमा देश–विदेश घुमेका जयबहादुर घिमिरे काम गर्न नसक्ने भएपछि भने एक दशकभन्दा लामो समय पाटीमा मागेर गुजारा गर्न बाध्य हुनुभयो । आफ्नो घर रामेछाप बताउने उहाँ अविवाहित हुनुहुन्छ । दाजुभाइले सम्पति खाएको उहाँको आरोप छ । सम्पत्ति र सन्तान केही नभएपछि सडक अन्तिम विकल्प भएको हो ।

आश्रमले लगेपछि उहाँ अहिले आश्रममा नै मृत्यु कुरेर बस्नुभएको छ । उमेरले ८० वर्ष नाघ्नुभएका घिमिरे अझै आफ्नो काम आफैँं गर्न रुचाउनुहुन्छ । भन्नुहुन्छ, “आफैंँले भाँडा माझेर खाँदा मात्र आनन्द लाग्छ ।” उहाँ नियमित रुपमा मुटु र उच्च रक्तचापको औषधि खाने गर्नुहुन्छ ।

विभिन्न कारणले सडक जीवन बिताउन बाध्य भएकामा सबैभन्दा बढी ज्येष्ठ नागरिक भएको आश्रम ललितपुरका प्रमुख धर्मप्रसाद पौडेल बताउनुहुन्छ । आश्रम अहिलेसम्म स्वदेशी सहयोगले मात्रै चलिरहेको छ । सातामा दुई दिन सडक अवलोकन गरेर आश्रमले सडकमा मागेर गुजारा गर्नेलाई ल्याउने गरेको छ । उहाँ भन्नुहुन्छ, “मागेर समेत खान नसक्ने नै हाम्रो लक्षित वर्ग हो ।” देशभरका आठ आश्रममा गरेर झण्डै एक हजार जनाको उद्धार भएको छ ।

एक सय ७५ जना पुनःमिलन गराइएको पौडेल बताउनुहुन्छ । पचास जनाभन्दा बढी ज्येष्ठ नागरिकको आश्रममा नै मृत्यु भइसकेको छ । अहिले संस्थाले आश्रय दिए पनि सडकमा अलपत्र परेका नागरिकको जिम्मेवारी स्थानीय निकायले लिनुपर्नेमा आश्रमको जोड छ ।

प्रकाशित : १८ भाद्र २०७४, आइतबार ००:००