२ जेष्ठ २०८१, बुधबार । May 15, 2024

मुख्य खबर

पूर्वप्रधानमन्त्री दाहालद्वारा निर्माणाधीन मेडिकल कलेजको निरीक्षण



धनगढी, ११ भदौ । पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आज कैलालीको गोदावरी नगरपालिकास्थित गेटी गाउँमा निर्माणाधीन मेडिकल कलेजसम्बन्धी कामको निरीक्षण गर्नुभएको छ ।

निरीक्षणका क्रममा उहाँले उक्त मेडिकल कलेज ७ नं प्रदेशको विकासका लागि महत्वपूर्ण हुने भएकाले यसको समयमै निर्माण पूरा गर्नमा सबैको सहयोग हुनुपर्ने बताउनुभयो ।

सो अवसरमा कलेज पूर्वाधार विकास समितिका कार्यकारी निर्देशक हेमराज पुजाराले कलेज निर्माण सम्बन्धमा भइरहेको प्रगतिबारे जानकारी गराउनुभएको थियो ।

गत फागुनदेखि निर्माणाधीन कलेजको प्रारम्भिक चरणमा तीनतले कलेज भवन र तीनतले अस्पताल भवनलगायत संरचना निर्माण हुन लागेको छ । ३०० शय्याको कलेज निर्माणका लागि गेटी गाउँमा सरकारले ५१.८ हेक्टर जग्गा छुट्याएको छ ।

वार्षिक रुपमा आवश्यक बजेटको व्यवस्था हुन सकेकामा चाहिने जति संरचनाहरु निर्माण पूरा गर्न करिब अढाई वर्षको समय लाग्ने र त्यसपछि मात्रै पठनपाठन सुरु गर्न सकिने पुजाराले बताउनुभयो ।

विसं २०६६ मा सरकारले कैलालीको गेटीमा मेडिकल कलेज स्थापनाको घोषणा गरेकामा निर्माणका लागि छुट्याइएको जग्गाको भोगाधिकार कायम गर्न, नक्शांकन, सीमांकन, गुरुयोजना, वातावरण प्रभाव मूल्यांकनलगायत काम गर्नुपर्ने भएकाले कलेजका संरचना निर्माणमा ढिलाइ भएको हो ।

प्रकाशित : ११ भाद्र २०७४, आइतबार ००:००