२ जेष्ठ २०८१, बुधबार । May 15, 2024

मुख्य खबर

घरबास कार्यक्रमको स्तरीकरण र व्यवसायीकरणमा जोड



पोखरा, ११ भदौ । गाउँ पर्यटन प्रवद्र्धन मञ्च (भिटोफ), पोखराद्वारा आज यहाँ आयोजित घरबास कार्यशालामा गाउँ पर्यटनको विकासका लागि घरबास कार्यक्रमको स्तरीकरण एवं व्यवसायीकरण हुनुपर्नेमा जोड दिइएको छ ।

बढ्दो बजारीकरणको विकास तथा विस्तारसँगै ग्रामीण पर्यटनतर्फ आकर्षण बढ्दै गएको बताउँदै कार्यशालामा वक्ताले गाउँ पुग्ने जो कोही पर्यटकलाई राम्रो आतिथ्यता तथा भोजन र आवासको व्यवस्था गर्नु अपरिहार्य भएको बताए ।

कार्यक्रममा राष्ट्रिय पर्यटन परिषद्का सदस्य वासु त्रिपाठीले गाउँ पर्यटनको विकासका लागि घरबास कार्यक्रमलाई व्यवस्थित गर्दै समयसापेक्ष स्तरीय बनाउँदै लग्नुपर्ने बताउनुभयो । फ्याक्ट्स नेपालका प्रबन्ध निर्देशक मनिष झाले युरोपबाट शुरु भएको घरबास कार्यक्रम नेपालमा पनि क्रमशः विकास हुँदै आएको बताउँदै नेपालमा यसको विकास तथा विस्तारको पर्याप्त सम्भावना रहेको उल्लेख गर्नुभयो ।

नेपाल पर्यटन बोर्ड पोखराका प्रमुख उदय भट्टराईले पर्यटन बोर्डले घरबास कार्यक्रमकोे विकास तथा विस्तारका लागि प्रवद्र्धनात्मक कार्यक्रम सञ्चालन गर्दै आएको बताउनुभयो । नेपाल पर्यटन बोर्ड पोखराका वरिष्ठ अधिकृत सूर्य थपलियाले घरबास कार्यक्रमकोे प्रभावकारितासँगै यसले समग्र पर्यटनको विकासमा महत्वपूर्ण योगदान गर्ने बताउनुभयो ।

कार्यक्रममा पत्रकार सन्तोष पोखरेल, गाउँ पर्यटन प्रवद्र्धन मञ्च, पोखराका महासचिव नवराज अधिकारी, सचिव रवीन्द्रराज पौडेललगायतले ग्रामिण पर्यटनको विकासमा घरबास कार्यक्रमको विकास तथा विस्तारमा राज्यको उच्च प्राथमिकता हुनुपर्ने बताउनुभयो । कार्यशालामा पोखरा र आसपासका विभिन्न १६ वटा होम स्टे (घरबास) सञ्चालन स्थलका ५० जनाभन्दा बढी व्यक्तिको सहभागिता थियो ।

प्रकाशित : ११ भाद्र २०७४, आइतबार ००:००