२ जेष्ठ २०८१, बुधबार । May 15, 2024

मुख्य खबर

शुद्धतालाई ध्यान दिन आपूर्तिमन्त्रीको निर्देशन



काठमाडौँ, ११ भदौ । आपूर्तिमन्त्री शिवकुमार मण्डलले दैनिक उपभोग्य वस्तुको शुद्धतालाई ध्यान दिन सरोकारवालालाई निर्देशन दिनुभएको छ ।

आपूर्ति मन्त्रालयमा भएको शुपथ मूल्यसम्बन्धी बैठकमा मन्त्रि मण्डलले मन्त्रालयअन्तर्गतका विभाग, कृषि तथा पशुपक्षी विकास मन्त्रालयअन्तर्गतका विभाग र उपभोक्ता अधिकारकर्मी तथा व्यवसायीलाई यस्तो निर्देशन दिनुभएको हो ।

“अहिले अत्यधिक नाफा खाएर उपभोक्तालाई समस्या परेको छ तर अब होलसेलरले सातदेखि १० प्रतिशतसम्म नाफा खाने र खुद्रा व्यापारीले २० प्रतिशत नाफा खाएर बिक्री गर्दा उपभोक्ता लाभान्वित हुने अवस्था आउँछ”, उहाँले भन्नुभयो ।

मन्त्रि मण्डलले उपभोक्ताले अस्वस्थ खानेकुरा खाने अभ्यास बढेकाले त्यस्तो बानी परिवर्तन गर्नुपर्ने बताउनुभयो । मन्त्रि मण्डलले भन्नुभयो, ‘वधशाला व्यवस्थित गर्न र माछा–मासु तथा दूधमा हुने शुद्धतालाई विशेषगरी ध्यान दिनुपर्ने छ ।”

मन्त्री मण्डलले खाद्यवस्तुमा आत्मनिर्भरताका लागि ध्यान दिनुपर्ने बताउनुभयो । सरकारले चाडपर्वका अवसरमा सञ्चालन गर्ने शुपथ मूल्यका पसलमा घीउ र पनिरमा पनि छुट दिने भएको छ । शुपथ मूल्य पसल सञ्चालन सम्बन्धी सरोकारवालाको वैठकले आज यस्तो निर्णय गरेको हो ।
बैठकले दुग्ध विकास संस्थानले उत्पादन गर्ने घीउ र पनिरमा रु १० छुट दिने निर्णय गरेको छ । उक्त छुट चाडपर्वमा सञ्चालन हुने शुपथ मूल्य पसलमा दिइनेछ ।

त्यसैगरी बैठकले नेपाल खाद्य संस्थान र साल्ट ट्रेडिङले सञ्चालन गर्ने शुपथ मूल्य पसलमा आलु, प्याजलगायतका तरकारी पनि सहुलियतमा उपलब्ध गराउने निर्णय गरेको छ । बजारमा खुद्रा मूल्यभन्दा सस्तोमा आलु र प्याज उपलब्ध गराउने नेपाल फलफूल तथा तरकारी बजार महासङ्घका अध्यक्ष खोमप्रसाद घिमिरेले बताउनुभयो । माछामासु व्यवसायीले पनि चाडवाडमा माछा–मासु पसल सफासुग्घर राख्ने र सहज तरिकाले उपलब्ध गराउने प्रतिबद्धता जनाएका छन् ।

प्रकाशित : ११ भाद्र २०७४, आइतबार ००:००