२ जेष्ठ २०८१, बुधबार । May 15, 2024

मुख्य खबर

स्थानीय तहमा इकाई स्थापना गरिन्छ : मन्त्री कोइराला



काठमाडौँ, ११ भदौ । महिला, बालबालिका तथा समाजकल्याणमन्त्री आशा कोइरालाले मुलुकमा भइरहेको मानव बेचबिखन अन्त्यका लागि सम्पूर्ण स्थानीय तहमा इकाई स्थापना गरिने बताउनुभएको छ ।

मन्त्रालयद्वारा आज यहाँ आयोजित मानव बेचबिखन तथा ओसार–पसार नियन्त्रण विरुद्धको कार्यक्रममा मन्त्री कोइरालाले सम्बन्धित नगरपालिका तथा गाउँपालिकासँग समन्वय गरी ती इकाईले स्थानीय तहमा निगरानी बढाउने र बेचबिखन न्यूनीकरण हुने विश्वास व्यक्त गर्नुभयो ।

उहाँले मानव बेचबिखनका साथै बलत्कार, हत्या, अपहरणजस्ता घटना जघन्य अपराध भएको बताउँदै यस्ता गतिविधिलाई पूर्ण रुपमा निरुत्साहित गर्न सरकार, गैरसरकारी संस्था, सोही क्षेत्रमा क्रियाशील सङ्घ तथा सरोकार पक्षको एकताको खाँचो औँल्याउनुभयो ।

सोही मन्त्रालयका सचिव खगराज बरालले यस्ता जघन्य अपराध सञ्चालन गर्ने समूहले अनेकौँ लोभ–प्रलोभन देखाएर सोझा सिधालाई फसाउने गरेकामा चिन्ता व्यक्त गर्दै घटना न्यूनीकरणका लागि देशभर चेतना फैलाउन अभियान सञ्चालन गर्नुपर्नेमा जोड दिनुभयो ।

सहसचिव राधिका अर्यालले यही भदौ २० गते मानव बेचबिखन तथा ओसार–पसार नियन्त्रण विरुद्धको दिवस मनानउन लागिएको जानकारी दिनुभयो । ‘विश्वास नेपाल’ सामाजिक संस्थाकी अध्यक्ष तारा भण्डारीले यस्ता अपराध सञ्चालकले विभिन्न शक्ति केन्द्रको सहयोगमा राष्ट्रिय तथा अन्तर्राष्ट्रिय तहमा सञ्जाल फैलाउने हुँदा घटनामा संलग्न दोषीको पहिचान गरी कारबाही गर्न समस्या देखिएको बताउनुभयो । मनोरञ्जन क्षेत्रका कामदार, वैदेशिक रोजगारमा जाने कामदार बेचबिखनको बढी जोखिममा रहेको बताइएको छ ।

प्रकाशित : ११ भाद्र २०७४, आइतबार ००:००