४ जेष्ठ २०८१, शुक्रबार । May 17, 2024

मुख्य खबर

बाढीबाट ७५ विद्यालयमा क्षति



राजविराज, १० भदौ । सप्तरीमा हालै आएको बाढीका कारण ७५ विद्यालयमा क्षति पुगेको छ ।

जिल्ला शिक्षा कार्यालयका अनुसार बोदेवरसाई नगरपालिकाअन्तर्गत मैन्हासह श्रवाहुको मयना टोलमा रहेको प्राथमिक विद्यालय र कठोनामा रहेको मदर्सा पूर्णरुपमा क्षतिग्रस्त भएको जिल्ला शिक्षा अधिकारी डोलराज पाण्डेले बताउनुभयो ।

त्यस्तै अन्य ७३ विद्यालयमा भने विद्यालयका पर्खाल र टिनको छाना खसेको र बालविकासका दिइएको गलैँचा र विद्यालयमा रहेका शैक्षक सामग्रीमा क्षति पुगेको छ । राजविराज–१ पडरियामा रहेको देवकोटा निमाविमा बाढीले भवन भत्काउँदा सो विद्यालयमा रहेका शैक्षिक सामग्री पनि पूर्णरुपमा नष्ट भएको छ ।

यस्तै भारदहस्थित बिपी माविमा पनि विद्यालय निर्माणका लागि राखिएको ५० बोरा सिमेन्ट, तीन ट्युबवेल, टेबल र कुर्सी पूर्णरुपमा क्षतिग्रस्त भएको विद्यालयका शिक्षक शिवशंकर मण्डलले बताउनुभयो ।

राप्रवि लोखरममा समेत पर्खाल, गलैँचा तथा शैक्षिक सामग्री नष्ट भएको बताइएको छ । विद्यालयमा बाढी पसेका कारण करिब रु दुई करोड ४० लाख मूल्य बराबरको क्षति भएको जिल्ला शिक्षा कार्यालयले जनाएको छ । जिल्लामा ४१० सामुदायिक विद्यालय छन् ।

बाढी प्रभावित क्षेत्रमा शौचालय

बाढी प्रभावित क्षेत्रमा महामारी फैलिन नदिनका लागि सबल नेपाल नामक गैरसरकारी संस्थाले अस्थायी शौचालय निर्माण शुरु गरेको छ । सो संस्थाले बाढीबाट अति प्रभावित डलवा, मैनाकडेरी, रम्पुरा मल्हनिया, त्रिकौल, मधवापुर, सकरपुरालगायत क्षेत्रमा महिला र पुरुषका लागि छुट्टाछुट्टै अस्थायी शौचालय निर्माण थालेको सबल नेपालका फोकल पर्सन परमेश्वर झाले जानकारी दिनुभयो ।

जिल्ला खानेपानी सरसफाइ डिभिजन कार्यालय सप्तरी, अनुसन्धान तथा दिगो विकास केन्द्र नेपाल (क्रियशन), युनिसेफ तथा आइडिईको सहयोगमा सबल नेपालले करिब ३० अस्थायी शौचालय निर्माण गर्दैछ ।

खासगरी बाढीबाट प्रभावित र विस्थापित भई विभिन्न स्थानमा पाल टाँगेर बसेका ठाउँमा सो शौचालय निर्माण गर्न लागिएको हो । पछिल्लो पटक बिहीबार र शुक्रबार गरी सप्तरीको दक्षिणी भेगका रम्पुरा मल्हनिया, सकरपुरा, डलुवालगायतका बाढीपीडित अहिले हनुमाननगर कंकालनी नगरपालिका–१४ स्थित कोशी नदीको बाँधमा पाल टाँगेर बसेका छन् ।

बाढी प्रभावित क्षेत्रमा सरसफाइका सामग्री, पानी शुद्धीकरणका चक्की, बाल्टिनलगायत सामग्रीसमेत सो संस्थाले वितरण गरेको छ । साथै खानेपानी कार्यालयका तर्फबाट पर्याप्त मात्रामा पानी शुद्धीकरण गर्ने औषधिसमेत वितरण गरिएको छ । जिल्लामा सरसफाइमा काम गर्ने निकाय युएनह्याबिट्याट, युनिसेफ, सेभ द चिल्ड्रेन, इनफोलगायतले प्रभावित क्षेत्रमा पानी शुद्धीकरण तथा साबुन पानीले सही तरिकाबाट हात धुनेबारे स्वास्थ्य शिक्षा प्रदान गरेका छन् ।

प्रकाशित : १० भाद्र २०७४, शनिबार ००:००