२ जेष्ठ २०८१, बुधबार । May 16, 2024

मुख्य खबर

बाढीपछि बिरामीको चाप उच्च



इटहरी, ७ भदौ । साउनको अन्तिम हप्ता पूर्वी नेपालको पहाड तथा तराईमा परेको अविरल वर्षापछि मानव वस्ती डुवानमा परेका कारण सर्वसाधारणमा विभिन्न रोगको सङ्क्रमण बढेको पाइएको छ ।

पूर्वी नेपालको सबैभन्दा बढी बिरामी रिफर गरी पठाइने अस्पतालका रुपमा रहेको बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा साउनको अन्तिम साता प्रतिष्ठानको आकस्मिक उपचार कक्षमा बिरामीको चाप बढेको हो ।

प्रतिष्ठानको इमर्जेन्सी विभागका एडिशनल प्रोफेसर डा रविन भण्डारीका अनुसार विगतमा दैनिक डेढ सयजना इमर्जेन्सीमा आउने गरेकामा अहिल दैनिक तीन सय भन्दा बढी बिरामी भर्ना हुन आउने गरेका छन् ।

डा भण्डारीका अनुसार अहिले रुघाखोकी, शरीर र टाउको दुख्ने, भाइरल ज्वरो लगायतका बिरामीको चाप बढेको छ र प्रतिष्ठानको इमर्जेन्सी उपचार कक्षबाट चौबीसै उपचार सेवा उपलब्ध गराउन चिकित्सक र नर्सहरूलाई हम्मेहम्मे परिरहेको छ ।

प्रतिष्ठानका उपकुलपति डा राजकुमार रौनियारले प्रतिष्ठानबाट चिकित्सकको एक घुम्ती टोली सुनसरी र अन्य आसपासका जिल्लामा समेत बाढी प्रभावितहरूको स्वास्थ्य जाँच एवम् उपचारमा परिचालित हुनुपर्ने बताउनुभयो ।

प्रकाशित : ७ भाद्र २०७४, बुधबार ००:००