२ जेष्ठ २०८१, बुधबार । May 15, 2024

मुख्य खबर

नदी सफाइमा वर्षाको प्रभाव, ११ मेट्रिक टन फोहर व्यवस्थापन



काठमाडौँ, २८ साउन । उपत्यकाका नदी र चक्रपथ सफाइमा वर्षाले प्रभाव पारेपछि आजको सफाइमा ११ मेट्रिक टन फोहर मात्र व्यवस्थापन भएको छ ।

वाग्मती सफाइ महाअभियानको २२२ औँ हप्तामा आज ललितपुरतर्फको थापाथली पुलमुनिको नदी किनारमा सफाइ गरी चार मेट्रिक टन फोहर व्यवस्थापन गरियो ।

सफाइमा अधिकार सम्पन्न वाग्मती सभ्यता एकीकृत विकास समिति, काठमाडौँ महानगरपालिका, काठमाडौँ उपत्यका खानेपानी लिमिटेड, नेपाली सेना, नेपाल प्रहरी, मुक्तिनाथ विकास बैंक, न्यानो स्पर्श, पहिलो पाइला, नेपाल नदी संरक्षण संस्था, जीवन विज्ञान, हलेसी डेकोर, युरेसिया रेयुकाई, गायत्री परिवार, नेपाल विज्ञापन सङ्घ, साया समूह, कुपण्डोल फ्रेण्ड्स् क्लब, प्राकृतिक प्रकोप नियन्त्रण, भूकम्प तथा दैवी प्रकोप संरक्षण संस्था, ब्लु क्रस अस्पताल एम्बुलेन्सलगायत २० संस्थाका प्रतिनिधिको सहभागिता थियो ।

पूर्व सचिव डा कृष्णचन्द्र पौडेल, पूर्व सचिव केशव भट्टराई, अधिकार सम्पन्न वाग्मतीका आयोजना प्रमुख ज्योतिकुमार श्रेष्ठ, वाग्मती अभियन्ताहरु अर्जुन धरेल, टंकराज आचार्य, नारायणकुमार श्रेष्ठ, हेमराज कार्की, मेघ आले, टोस्टराज क्षेत्री, राजीवराज पौडेल, निर्मला केसी, गोविन्द काफ्लेलगायत ५०० जनाको सफाइमा सक्रियता थियो ।

गुह्येश्वरीमाथिको वाग्मतीमा राम्रो जोरपाटी हाम्रो जोरपाटी र पुडासैनी मैत्री समाजले १८३औँ हप्ताको सफाइ गोठाटार पहेँलो पुलमुनि र हनुमान वाटिका क्षेत्रमा गरी दुई मेट्रिक टन फोहर व्यवस्थापन गरियो । सफाइमा १०० भन्दा बढीको उपस्थिति थियो ।

रुद्रमती सफाइको १८१औँ हप्तामा आज रातोपुलदेखि सिफलचौर हुँदै कालोपुलसम्म सफाइसहित घरदैलो गरियो । घरदैलोसहितको सफाइबाट एक मेट्रिक टन फोहर व्यवस्थापन गरियो । काठमाडौँ महानगरपालिका वडा नं ३० का अध्यक्ष दलबहादुर कार्की, निर्वाचित वडा सदस्यसहित १५० जनाभन्दा बढीको सहभागिता थियो ।

विष्णुमती सफाइको १५२औँ हप्तामा आज मनमैँजु पुल क्षेत्रको नदी किनारमा सफाइ गरी एक मेट्रिक टन फोहर व्यवस्थापन गरियो । सफाइमा ४०० भन्दा बढीको सहभागिता थियो । सो अवसरमा जनचेतनामूलक कार्यक्रमसमेत गरिएको जनाइएको छ ।

चक्रपथ सफाइको १८औँ हप्तामा आज गोंगबु क्षेत्रमा सफाइ गरी एक मेट्रिक टन फोहर व्यवस्थापन गरियो । सफाइमा ३०० भन्दा बढी अभियन्ताको सहभागिता थियो । वर्षाका कारण चक्रपथ सफाइमा समस्या भएको सफाइ महाअभियानले जनाएको छ ।

सकारात्मक मातृशक्ति आवाजले आलोकनगर मीनभवन क्षेत्रमा गरेको १८औँ हप्ताको सफाइमा एक मेट्रिक टन फोहर व्यवस्थापन गरियो । सफाइमा ७५ जनाको सहभागिता थियो ।

तिलगंगास्थित वाग्मती नदी किनारमा तिलगंगा महिला समूहले आयोजना गरेको सफाइमा ३० जनाको सहभागिता थियो । सफाइबाट एक मेट्रिक टन फोहर व्यवस्थापन गरियो ।

अर्को शनिबार २२३औँ हप्ताको वाग्मती सफाइका क्रममा कुपण्डोलबाट सुन्दरीघाटससम्म महाजलयात्रा गरिने सफाइ महाअभियानले जनाएको छ । जलयात्रासहित वाग्मती सभ्यताको रक्षाका लागि प्रवचन कार्यक्रम पनि गरिनेछ ।

प्रकाशित : २८ श्रावण २०७४, शनिबार ००:००