२ जेष्ठ २०८१, बुधबार । May 16, 2024

मुख्य खबर

तरकारीखेतीमा महोत्तरी लक्ष्मीनियाँका किसान उत्साहित



महोत्तरी, २८ साउन । गौशाला नगगरपालिका– १२ साविकका लक्ष्मिनियाँ गाविस– ७ का ६५ वर्षिय रामचन्द्र महतो आजभोलि खेतीपाती गरेर वैदेशिक रोजगारीमा जाने युवालाई चुनौती दिएका छन् ।

केही वर्ष अगाडिमात्रै शिक्षक सेवाबाट अवकास प्राप्त गर्नुभएका महतोले वैज्ञानिक विधिद्वारा आफ्नै खेतमा हरियो तरकारी उत्पादन गरेर मासिक हजाराँै रुपैयाँ कमाउन सफल भएका छन् ।

कम्पोस्ट मलको सट्टामा प्रांगारिक मल, किटनाशक औषधिको सट्टामा स्थानीयस्तरमा पाइने जडीबुटीलाई मिश्रित घोल बनाएर छर्किंदा कम लगानीमै बढी उत्पादन गर्नमा सफल भएको अनुभव महतोको छ ।

यसैगरी विभिन्न किसिमका तालिमबाट प्राप्त भएको ज्ञानको आधारमा बीउ संरक्षण, खेती गर्ने, किटनाशकबाट बाली जोगाउने, बजार व्यवस्थापन लगायतका विधि प्रयोग गरी मगन्य आम्दानी गर्न सफल भएको छ – २२ वर्षीया गृहणी सुनिता कुमारी ।

स्थानीयस्तरमै कृषकको समूह बनाएर तरकारीखेती गर्न थालेपछि अहिले जिल्ला कृषि विकास कार्यालयबाट पनि विभिन्न किसिमको आकर्षक प्याकेजलगायतका कृषि सामग्री अनुदानस्वरुप प्राप्त हुन थालेको छ, उहाँले भन्नुभयो ।

स्थानीयस्तरमा बजारको उचित व्यवस्थापन नहुँदा महोत्तरीको गौशाला, सर्लाहीको लालबन्दी, धनुषाको ढल्केबरमा गएर उत्पादित तरकारी बिक्री गर्नुपर्ने बाध्यता रहेको अर्का किसान सन्तलाल महतोको भनाई छ ।

स्थानीयस्तरमा रहेको संस्थाबाट कुनै किसिमको सहयोग नपाए पनि जिल्ला कृषि विकास कार्यालयबाट विभिन्न किसिमको सहयोग प्राप्त हुँदै आएको शिवशक्ति मिश्रित बहुउद्देश्य सहकारी समूहका अध्यक्षसमेत रहनुभएका महतोले जानकारी दिनुभयो ।

प्रत्यक्ष रुपमा तीन सय घरपरिवार कृषि पेशामा संलग्न रहेको सो गाउँ पछिल्लो समयमा आएर हरियो सागपातको गाउँले जिल्लामै परिचित हुनथालेको छ । सो स्थानमा बर्दिवासस्थित सामुदायिक विकास तथा पैरवी मञ्चले विभिन्न समयमा समूह विभाजन गरी बाख्रापालन तथा वैज्ञानिक तरकारीखेती गर्न तालिम दिँदै आएका पनि छन् ।

त्यहाँका किसानलाई सिँचाइको व्यवस्था, रसायनिक मलको सट्टामा कम्पोस्ट मलको प्रयोग विधि, विषादीको सट्टामा एकीकृत शत्रुजीव व्यवस्थापन, तरकारीमा लागेको रोगकिराको नियन्त्रण र बजार व्यवस्थापन सम्बन्धि तालीम विभिन्न समयमा दिँदै आएको सामुदायिक विकास तथा पैरवी मञ्च बर्दिवासका अध्यक्ष नांगदेव यादवले जानकारी दिनुभयो ।

‘मेहनत गरे माटोमै पनि सुन फल्छ’ भन्ने उदाहरणलाई महोत्तरी गौशाला नगरपालिका– १२ लक्ष्मिनियाँका किसानले सावित गरेको उहाँले बताउनुभयो ।

त्यहाँका किसानले दैनिक रु ५० हजारदेखि दुई लाखसम्मको मूल्य बराबरका तरकारी उत्पादन गर्ने गरेका छन् । तरकारी उत्पादनमा वृद्धि भएपछि जिल्ला कृषि विकास कार्यालयले गतवर्ष त्यहाँ रु ६ लाख ६९ हजारको लागतमा तरकारी संकलन केन्द्रको स्थापनासमेत गरेको छ ।

स्थानीयले सो स्थानमा बजारको उचित व्यवस्थापन र बैँक स्थापनाको माग सम्बन्धित सरोकारवाला निकाय समक्ष आग्रह गरेका छन ।

प्रकाशित : २८ श्रावण २०७४, शनिबार ००:००