३ जेष्ठ २०८१, बिहिबार । May 16, 2024

मुख्य खबर

७९ सहकारी संस्थाको दर्ता खारेज



कलैया, २१ साउन । बारामा ७९ वटा सहकारी संस्थाको दर्ता खारेज गरिएको छ ।

सहकारी ऐन २०४८ को परिच्छेद १० को दफा ४१ को उपदफा ३ बमोजिम जिल्लामा रहेका सहकारीमध्ये ती संस्थाको दर्ता खारेज गरिएको डिभिजन सहकारी कार्यालय बाराले जनाएको छ ।

सहकारी ऐन बमोजिम दर्ता भएका ती सहकारी संस्थाले ऐन नियम तथा संस्था स्वीकृत विनियमबमोजिम गर्नुपर्ने कार्य नगरेको र ३१ वर्षसम्म कुनै पनि विवरण नबुझाएकाले ती सहकारी संस्थाको दर्ता खारेज गरिएको डिभिजन सहकारी कार्यालय बाराका कार्यालय प्रमुख कुलोत्तम पोखरेलले बताउनुभयो ।

गत वर्षसम्म बारा जिल्लामा १० प्रकारका ७११ वटा सहकारी संस्था सञ्चालनमा छन् । तीमध्ये कृषि सहकारी ३६०, बचत तथा ऋण सहकारी २२७, बहुद्देश्यीय सहकारी ५३, साना किसान सहकारी १९, पशुपालन सहकारी १६, दूध उत्पादन सहकारी १५, मत्स्य सहकारी १३, सञ्चार सहकारी चार, उपभोक्ता सहकारी तीन र तरकारी तथा फलफूल सहकारी संस्था एक वटा रहेका छन् ।

बारामा धान रोपाइँ कार्य सम्पन्न

यो वर्ष बारामा बर्खे धानको (भदैवा–अगहनी) रोपाइँ कार्य सम्पन्न भएको कृषि विकास कार्यालयका सूचना अधिकृत रामदयाल ठाकुरले बताउनुभएको छ ।

जिल्लामा यो वर्ष बर्षे (भदैया) धान १२ हजार ५३२ हेक्टर, अगहनी ४० हजार १३१ हेक्टर तथा ५२ हजार ६६३ हेक्टरमा हर्दिनाथ–१, चैते–२, चैते–४, राधा ४, सोना मन्सुली सावित्री, स्वर्ण सव–१ सावा मन्सुली, राधा ११ जातको धान रोपाइँ भएको जिल्ला कृषि विकास कार्यालयले जनाएको छ ।

गत वर्ष ०७३÷०७४ मा कुल ५४ हजार २८९ हेक्टर क्षेत्रफमा गरिएको बर्खे धान खेतीबाट बारामा प्रतिहेक्टर ३ दशमलव ४ मेट्रिक टनका दरले कुल एक लाख ८५ हजार ५०४ मेट्रिक टन धान उत्पादन भएको थियो ।

प्रकाशित : २१ श्रावण २०७४, शनिबार ००:००