५ जेष्ठ २०८१, शनिबार । May 18, 2024

मुख्य खबर

‘विपद् व्यवस्थापनसम्बन्धी विधेयक अघि बढाउन सरकारलाई निर्देशन’



काठमाडौँ, २३ असार । व्यवस्थापिका–संसद्को राज्य व्यवस्था समितिले निर्वाचन विधेयकसँगै तत्काल विपद् व्यवस्थापनसम्बन्धी विधेयक अघि बढाउन सरकारलाई निर्देशन दिएको छ ।

आज बसेको समितिको बैठकमा सांसदहरुले विपद् व्यवस्थापनसम्बन्धी ऐन ल्याउने वर्षांैदेखि भन्दै आइए पनि त्यसले पूर्णता पाउन नसकेको भन्दै सोसम्बन्धी विधेयक तत्काल ल्याउन बैठकमा उपस्थित हुनुभएका गृहमन्त्री जनार्दन शर्माको ध्यानाकर्षण गराउनुभएको थियो ।

बैठकले देशभरको बाढीपहिरोबाट प्रभावितलाई न्यायोचित क्षतिपूर्तिको व्यवस्था तथा उद्धार र राहतलाई प्रभावकारी बनाउन सरकारलाई निर्देशन दिएको छ ।

गृहमन्त्री शर्माले समितिको आगामी बैठकमा विपद् व्यवस्थापनसम्बन्धी विधेयकको बारेमा सांसदहरुले गुनासो गर्नुपर्ने अवस्था नआउने बचन दिनुभयो ।

उहाँले विपद् व्यवस्थापनसम्बन्धी प्रस्तावित विधेयक सहमतिका लागि कानुन, न्याय तथा संसदीय मामिला मन्त्रालयमा पठाइएको जानकारी दिँदै त्यहाँबाट सहमति भएर आएलगत्तै त्यसलाई मन्त्रालयले अगाडि बढाउने प्रतिबद्धता व्यक्त गर्नुभयो ।

भारतीय सीमामा निर्माण भएको बाँधका कारण पनि सप्तरीमा बाढीले थप क्षति पु¥याएकाबारेमा सरकारले कूटनीतिक पहल गरी समाधान खोज्ने उहाँको भनाइ छ ।

उहाँले बाढीपहिरोजस्ता विपद्का घटना घटेको अवस्थामा बाटोको म्यादबाहेक १० मिनेटभित्र राहत तथा उद्धारका लागि सुरक्षाकर्मी पुग्नेगरी व्यवस्था मिलाइएको जानकारी दिनुभयो ।
आइतबार निर्वाचनसम्बन्धी दुईवटा विधेयक मन्त्रिपरिषद्बाट पारित गर्ने तयारी गरिएको गृहमन्त्री शर्माले जानकारी दिनुभयो ।

आजको बैठकमा सांसदहरुले वर्षा लागेपछि विपद् व्यवस्थापन ऐनको कुरा हुने तर वर्षा सकिएपछि बिर्सने प्रवृत्ति बढेको भन्दै यो ऐन छिटो पारित गर्नुपर्नेमा जोड दिनुभएको थियो । उहाँहरुले बाढीपहिरोबाट पीडित भएकाको राहत तथा उद्धारमा सरकार उदासिन भएको आरोप लगाउँदै त्यसलाई प्रभावकारी बनाउनुपर्नेमा सरकारको ध्यानाकर्षण गराउनुभयो । सांसदहरुले प्रकोप पीडितको निःशुल्क उपचारको व्यवस्था गर्नुपर्ने माग गर्नुभयो ।

प्रकाशित : २३ असार २०७४, शुक्रबार ००:००