६ जेष्ठ २०८१, आइतबार । May 19, 2024

मुख्य खबर

काउखालिः साउन १ गतेदेखि कम्प्युटर प्रणालीमा



काठमाडौँ, २२ असार । काठमाडौँ उपत्यका खानेपानी लि (काउखालि) आगामी साउन १ गतेदेखि नेपाल टेलिकम र नेपाल विद्युत् प्राधिकरण जस्तै कम्प्युटर प्रणालीमा जाने भएको छ ।

लि कम्प्युटर प्रणालीमा गएपछि उपत्यकाका जुनसुकै कार्यालयबाट पानीको महसुल तिर्न सकिनेछ । साउनदेखि नै लिमिटेडका ‘मिटर रिडर’ ले पनि प्राधिकरणले जस्तै स्थलगत रुपमै ‘बिलिङ’ गर्ने प्रविधि प्रयोग गर्ने प्रवक्ता सुरेश आचार्यले राससलाई जानकारी दिनुभयो । “छ महिनापछि घरमा मिटर रिडर ‘बिलिङ’ गर्न गएका बेला ‘बिलिङ’ यन्त्रमा ‘स्मार्ट कार्ड’ छिराएर उपभोक्ताले पैसा तिर्न सक्ने प्रविधि भित्रिँदैछ, यो प्रविधि सञ्चालनका लागि लिमिटेडका छ जना उच्च तहका अधिकृतलाई भारतको नयाँ दिल्लीमा तालिम लिन पठाइँदैछ, तालिमप्राप्त जनशक्तिले फर्किएर सबै कर्मचारीलाई यो प्रविधि सिकाउनेछन्”, उहाँले भन्नुभयो ।

लिले मेलम्चीको पानी उपत्यकामा आएपछि वितरणका लागि दक्ष जनशक्ति पूर्ति गर्ने कामलाई पनि तीव्रता दिएको छ । हाल एक हजार कर्मचारी लिमा कार्यरत छन् । पानी सुन्दरीजल प्रशोधन केन्द्रमा झरिसकेपछि सञ्चालनका लागि प्राविधिकसहित ३०० कर्मचारी पूर्ति गरिएको छ । थप १२८ कर्मचारी पूर्तिका लागि विज्ञापन गरी परीक्षा सञ्चालन भइरहेको प्रवक्ता आचार्यले बताउनुभयो ।

नयाँ भर्ना भएका र भर्ना हुने प्रक्रियामा रहेकामध्ये ७८ प्राविधिक कर्मचारी छन् । हालसम्म मेलम्ची खानेपानी आयोजनाले असोजसम्म पानी ल्याई वितरण गर्ने लक्ष्य राखेकाले त्यसअघि नै कर्मचारी नियुक्ति गरिसक्ने गरी प्रक्रिया अघि बढिरहेको छ ।

हाल दैनिक १३ करोड लि पानी वितरण गर्दै आएको लिले मेलम्चीको १७ करोड लि पानी थपिएपछि ३० करोड लि पानी वितरण गर्नुपर्नेछ । मेलम्ची आएपछि पानी वितरण गर्न सक्ने गरी लिको सङ्गठनात्मक संरचना पुनरवलोकन अन्तिम चरणमा पुगेको उहाँले सुनाउनुभयो । लिमा कार्यरत जनशक्तिको क्षमता अभिवृद्धिका लागि जापान अन्तर्राष्ट्रिय सहयोग संस्था (जाइका) को सहयोगमा तालिमको आयोजना गर्ने तयारी भएको छ । जनशक्तिको क्षमता वृद्धिकै लागि अस्ट्रेलियन वाटर युटिलिटीसँग पनि सहकार्यको पहल भइरहेको लिले जनाएको छ ।

प्रकाशित : २२ असार २०७४, बिहिबार ००:००