२ जेष्ठ २०८१, बुधबार । May 15, 2024

मुख्य खबर

चितवनमा चिकनगुनियाको सङ्क्रमण देखियो



चितवन, २० असार । पूर्वी चितवनको खैरहनीकी एक महिलामा चिकनगुनियाको सङ्क्रमण देखा परेको छ ।

जिल्ला जनस्वास्थ्य कार्यालय चितवनका किट नियन्त्रक राम केसीका अनुसार ५५ वर्षीया ती महिलाको रगत परीक्षणका क्रममा चिकनगुनियाको सङ्क्रमण देखा परेको हो । भरतपुरको नारायणी सामुदायिक अस्पतालमा उपचार गर्न आएकी ती महिलामा चिकनगुनियाको सङ्क्रमण देखिएको केसीले बताउनुभयो ।

जेठ १० गतेबाट ज्वरो आउन थालेपछि जेठ १९ गते ती महिलालाई उपचारका लागि नारायणी सामुदायिक अस्पताल ल्याइएको थियो । छ दिनसम्म सघन उपचार कक्षमा उपचार गरी ती महिला घर फर्किएको उहाँले बताउनुभयो ।

सोमबार मात्र सो रोगको सङ्क्रमण देखिएको जानकारी पाएपछि केसी र प्राथमिक स्वास्थ्य केन्द्र खैरहनीका कर्मचारी नेत्रबहादुर थापा ती महिलाको घर पुग्नुभएको थियो । केसीका अनुसार ती महिला पूर्णरुपमा निको भएको छ ।

थारु समुदायकी ती महिला घरबारीबाहेक अन्यत्र नगएको केसीले बताउनुभयो । ज्वरोसँगै घुँडा दुख्ने, टाउको दुख्ने, ढाड दुख्नेजस्ता समस्या भएपछि अस्पताल गएको ती महिलालाई उद्धृत गर्दै केसीले बताउनुभयो । खेतबारीमा काम गर्दागर्दै ती महिला बिरामी परेकी थिइन् ।

जिल्लामा यसअघि गत मङ्सिर १७ गते पिप्लेको एक १४ वर्षीया बालिकालाई चितवन मेडिकल कलेजमा उपचारका क्रममा चिकनगुनियाको सङ्क्रमण देखिएपछि थप उपचारका लागि ग्राण्डी अस्पताल काठमाडौँ लगिएको थियो ।

त्यसअघि विसं २०७३ असार ५ गते मेघौलिकी ३६ वर्षीया एक महिलाको भरतपुरको मौलाकालिका अस्पतालमा उपचारका क्रममा चिकनगुनिया देखिएपछि राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला टेकुमा परीक्षण गरी प्रमाणित भएको थियो । ती दुवै जना उपचारपछि निको भएको उहाँले बताउनुभयो । बालिका यहीँ बसोबास गरेकी हुन् भने महिला चन्द्रनिगाहापुरमा बस्दै गर्दा बिरामी परेपछि उपचारका लागि यहाँ आएकी थिइन् ।

यो रोग ‘एडिस’ नामक लामखुट्टेको टोकाइबाट मानिसमा सर्ने गर्दछ । यसलाई एजिप्टी पनि भनिन्छ । यो लामखुट्टे डेंगु, जिका भाइरस तथा एलो फिबर (पहेलो ज्वरो) सार्नका लागि पनि चिनिने गर्दछ । भरतपुर अस्पतालका फिजिसियन डा भोजराज अधिकारीका अनुसार अफ्रिकी मुलकमा जोर्नीको दुखाइका क्रममा कुप्रो पर्ने आसनलाई चिकनगुनिया भनिन्छ । एडिस नामक लामखुट्टेले धेरै मानिसलाई टोकेमा यो रोग मानिसमा देखापर्ने गर्छ ।

विशेषगरी चिकनगुनिया सार्ने लामखुट्टेले जहिले पनि एक भन्दाबढी मानिसलाई टोक्ने भएकाले नै यसको सङ्क्रमण पनि धेरै हुने गरेको उहाँले बताउनुभयो ।

यो रोग १९५२ मा पहिलो पटक दक्षिणी टान्जानियामा देखा परेको थियो । यो रोग अहिलेसम्म युरोप, अफ्रिका, एसियालगायत विश्वका ६० भन्दाबढी देशमा देखा परिसकेको विश्व स्वास्थ्य सङ्गठनले जनाएको छ । पछिल्लो समय यो रोगका कारण भारतमा हजारौँ मानिस प्रभावित बनेका थिए । अहिले यो रोग नेपालमा पनि देखिएको हो ।

चिकनगुनिया फैलाउने लामखुट्टेले डेंगुु पनि फैलाउने हुँदा यसबारे सजग हुन चिकित्सकको सुझाव छ ।

सामान्यतयाः चिकनगुनिया सार्ने लामखुट्टले टोकेको तीनदेखि सात दिनभित्र यसको लक्षण देखापर्न सुरु हुन्छ । चिकनगुनियाको सङ्क्रमण भएमा मानिसलाई एक्कासी ज्वरो आउँछ । मांसपेशी बाउँडिने, शरीरका हड्डी दुख्ने, एक हप्तामै शरीर कमजोर हुने लगायतका समस्या देखिने अधिकारीले बताउनुभयो । चिकनगुनियाको सङ्क्रमण भएमा मानिसमा उच्च ज्वरो आउँछ । ज्वरो एक्कासी बढेर १०४ डिग्रीसम्म पुग्न सक्छ ।

यसैगरी कम भोक लाग्नु, कमजोरी महसुस हुनु, टाउको दुख्नु, बेसरी जोर्नी दुख्नु, जोर्नी सुन्निनु यसका लक्षण हुन् । मांशपेशी दुख्नु, लगातार उल्टी हुनु, उल्टीमा रगत देखापर्नु पनि यस रोगका लक्षण हुन् । डा अधिकारीका अनुसार जिल्लामा डेंगुको सङ्क्रमण बढिरहेको छ । भरतपुर अस्पतालमा चिकनगुनियाको परीक्षण नहुने भन्दै उहाँले डेंगुसँग मिल्दोजुल्दो रोग भएकाले डेंगु परीक्षणमा नकरात्मक देखिएका बिरामीलाई चिकनगुनियाको परीक्षण गर्नु आवश्यक रहेको बताउनुभयो ।

सरकारी अस्पतालमा किटको अभावमा चिकनगुनियाको परीक्षण हँुदैन । जिल्ला जनस्वास्थ्य कार्यालय चितवनका प्रमुख विजय झाले चिकनगुनिया रोग नेपालमा सन् २०१३ बाट देखिन थालेको भन्दै यो बढ्दो क्रममा रहेकाले यसप्रति सचेत हुनुपर्ने बताउनुभयो ।

भरतपुर अस्पतालमा किट मगाउने पनि उहाँले बताउनुभयो । सुरुवाती समयमा भारतबाट भित्रिएको भनिएको यो रोग अहिले स्थानीय तहमा नै देखिएको पनि झाले बताउनुभयो । त्यसैले लामखुट्टेको टोकाइबाट जोगिनु नै यो रोग लाग्नबाट बच्नु भएको उहाँले बताउनुभयो । त्यसबाहेक पानी प्रशस्त पिउने र शरीरमा पानीको मात्रा कम हुन नदिन प्रशस्त झोलिलो पदार्थ सेवन गर्नुपर्ने झाको सुझाव छ ।

प्रकाशित : २० असार २०७४, मंगलबार ००:००