५ जेष्ठ २०८१, शनिबार । May 18, 2024

मुख्य खबर

चालक तामाङलाई कारागार चलान



काठमाडौँ, १८ असार । सवारी दुर्घटनाबाट ज्यान लिएका सवारी चालक विनय तामाङलाई पुर्पक्षका लागि केन्द्रीय कारागारमा चलान गरिएको छ ।

चालक तामाङलाई यातायात व्यवस्था ऐन २०४९ को दफा १६१ बमोजिम यही असार १४ गते सवारी ज्यान मुद्दा काठमाडौँ जिल्ला अदालतमा पेस गरेर कारागार चलान गरिएको हो ।

चालक तामाङले गएको जेठ २२ गते वसुन्धरा चोकमा बिहान ९.३० बजे रविना चौधरीको विद्यालय पढाउन जाँदै गर्दा जेब्रा क्रसिङमा हानेर ज्यान लिएका थिए ।

महानगरीय ट्राफिक प्रहरी महाशाखाका प्रमुख एवम् प्रहरी नायब महानिरीक्षक मिङमार लामाले आज पत्रकार सम्मेलन गरी चौधरीलाई जेब्राक्रसिङमा मार्ने तामाङलाई ज्यान मुद्दा चलाइएको जानकारी दिनुभयो ।

उहाँले सवारी चलाउने भन्दै तीव्र गतिबाट लगेर जेब्राक्रसिङमा मारेका कारण ज्यान मुद्दा चलाएको जानकारी दिनुभयो ।

प्रहरी नायब महानिरीक्षक लामाले चैत २८ देखि हालसम्म सडक तथा फुटपाथमा पार्किङ गरेको १२ हजार २९४ जना, हर्न निशेष उल्लङ्घन गरेको सात हजार १५६, जथाभावी बाटो काटेको ३४ हजार ७९६, जेब्राक्रसिङमा पैदल यात्रुलाई प्राथमिकता नदिने एक हजार ९२५ सवारी साधनका चालकलाई कारबाही गरिएको जानकारी पनि दिनुभयो ।

यस्तै महाशाखाले सवारीसाधन व्यवस्थापनलाई सहज बनाउन यातायात व्यवस्था विभागसँग छलफल गरेर उपत्यकाका आठ स्थानमा एकतर्फी तथा १३ स्थानमा दाँहिने मोड्न नपाउने व्यवस्थासमेत गरेको छ ।

महाशाखाका प्रमुख लामाले मैतीदेवी मोडबाट मैतीदेवीतर्फ, खिचापोखरीबाट एभरेष्ट बैंकतर्फ, पाटन चापागाउँबाट सातदोबाटोतर्फ, स्वयम्भु चोकबाट भगवानपाउ किमडोलतर्फ, बाटुलेघरबाट चारखालतर्फ, कृष्ण पाउरोटी चोकबाट बैंक अफ काठमाडौँतर्फ जान नपाइने व्यवस्था गरेको छ ।

यस्तै नयाँ बानेश्वरबाट भीमसेनगोलातर्फ, कान्तिपथ ज्याँठा गल्लीतर्फ, कानेदेवतास्थानतर्फ, बाँसघारी, कुमारी मन्दिर, ज्ञानेश्वर ओरालो, सोह्रखुट्टे ओरालो, अमृत साइन्स क्याम्पस, एयरपोर्टबाट गौशालातर्फलगायतका स्थानमा दाँहिने मोड्न नपाइने व्यवस्था गरेको छ ।

महाशाखाले आगामी दिनमा लामो दूरीका सवारी साधनलाई बसपार्कमा मात्र सीमित गरिने, महाशाखामा थप सिसिटिभी जोड्ने, ट्राफिक कारबाहीको अभिलेख राख्न सर्भरको व्यवस्था गर्ने, सवारीसाधन सरसफाइ तथा प्रदूषण जाँचका लागि नाकामा नै व्यवस्था मिलाउने जनाएको छ ।

प्रकाशित : १८ असार २०७४, आइतबार ००:००