३ जेष्ठ २०८१, बिहिबार । May 16, 2024

मुख्य खबर

‘हेल्थ डेस्क’ सञ्चालनमा ढिलाइ



काठमाडौँ, १८ असार । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा स्थापित अन्तर्राष्ट्रियस्तरको ‘हेल्थ डेक्स’ मर्मत भए पनि क्यामरा जडान गर्न नसक्दा हालसम्म सञ्चालनमा आउन सकेको छैन् ।

आगमन स्थलमा राख्ने थर्मल स्क्यानर क्यामरा जडानका वतानुकूलित कोठाको आवश्यकता पर्ने हुँदा कहाँ कसरी राख्ने भन्ने टुङ्गो नहुँदा सञ्चालनमा आउन नसकेको हो ।

इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाका निर्देशक डा भीम आर्चायकाअनुसार आगमन स्थलमा राख्ने थर्मल स्क्यानर क्यामरा जडानका लागि वतानुकूलित कोठाको आवश्यकता पर्ने भएकाले सोका लागि नागरिक उड्डयन मन्त्रालयसँग छलफलका लागि पहल भइरहेको छ ।

क्यामरा जडानका लागि वतानुकूलित कोठा नै चाहिन्छ, र यसका लागि विमानस्थलको सुरक्षालाई पनि ध्यान दिनुपर्ने भएकाले महाशाखाले नागरिक उडड्यन मन्त्रालयसँग सहकार्यका लागि गृहकार्य भइरहेको जनाएको छ ।

तीन वर्षअघि स्थापना गरिएको ‘हेल्थ डेस्क’ भूकम्पका कारण क्षतिग्रस्त भएपछि मर्मत गरी पुनःसञ्चालनमा ल्याउन लागिएको हो । उपकरणका साथै डेस्कलाई गुणस्तरीय र आकर्षक बनाउन विश्व स्वास्थ्य सङ्गठनले रु ३५ लाख उपलब्ध गराएपछि महाशाखाकाले हेल्थ डेक्सको मर्मत गरेर गुणस्तरीय बनाएको छ ।

उक्त क्यामराको फोकस बाहिरबाट आएका यात्रुको निधारमा परी उसको शरीरको तापक्रम नाप्ने काम गर्छ । सोही तापक्रमका आधारमा बढी तापक्रम भएका व्यक्तिलाई हेल्थ डेस्कमा ल्याएर उनीसँग परामर्श गरी उपचार गर्ने र कुनै रोगको जोखिम भए÷नभएको पत्ता लगाउने गरिन्छ ।

अफ्रिकन देशमा इबोलाको महामारी फैलिएपछि बाहिरी मुलुकबाट आएका पर्यटक तथा नेपाली यात्रुबाट रोगको सङ्क्रमण भित्रन सक्ने जोखिमलाई ध्यानमा राखेर सरकारले सो डेस्क स्थापना गरेको थियो ।

मुख्यतया रोगग्रस्त मुलुकबाट आएका यात्रीसँगै रोगको सङ्क्रमण देशभित्र भित्रन सक्ने हुनाले विमानस्थललै त्यसको जानकारी लिई यस सम्बन्धी सजकता अपनाउने उद्देश्यले डेस्कको स्थापना भएको हो ।

महाशाखाका निर्देशक आर्चायले अन्तर्राष्ट्रिय विमानस्थलमा रहेको हेल्थ डेस्क गुणस्तरीय भएकाले त्यहाँबाट दिइने सेवालाई अझ गुणस्तरीय बनाउन परामर्श दिने र त्यसको कम्प्युटरकृत तथ्याङ्क राख्ने व्यवस्था गरिएको जानकारी दिनुभयो ।

उक्त डेस्क आवश्यक प्राविधिक चिकित्सकसहित २४ सै घन्टा खुला रहनेछ ।

यसैगरी सरकारले यसप्रकारका हेल्थ डेस्क छिमेकी मुलुकसँग सिमा जोडिएको झापाको काकरभिट्टा, विराटनगरको रानी भन्सार, रसुवाको रसुवागडी नाका, कञ्चनपुरको गड्डाचौकी, भैरहवाको बेलिया नाका र नेपालगञ्जको जमुनाहामा स्थापना गरिएको छ । ।

विमानस्थलमा थर्मल स्क्यानर क्यामराका माध्यमबाट बिरामी पत्ता लगाइने भए पनि सीमामा रहेका अन्य छ हेल्थ डेस्कमा भने टाँसिएको सूचनाका आधारमा शङ्कास्पद बिरामी आफैँ हेल्थ डेस्कको सम्पर्कमा आएर जाँच तथा परामर्श लिने गरेका छन् ।

प्रकाशित : १८ असार २०७४, आइतबार ००:००