२ जेष्ठ २०८१, बुधबार । May 15, 2024

मुख्य खबर

सशस्त्र प्रहरीकोे प्रशिक्षण प्रतिष्ठान निर्मित



काठमाडौँ, १६ असार । चीन सरकारको सहयोगमा चन्द्रागिरि नगरपालिका मातातीर्थमा निर्मित सशस्त्र प्रहरी बलकोे प्रशिक्षण प्रतिष्ठानको संरचना आज नेपाल सरकारलाई हस्तान्तरण गरिएको छ ।

बलको प्रधान कार्यालयमा गृहमन्त्री जनार्दन शर्माको उपस्थितिमा मन्त्रालयका सचिव लोकदर्शन रेग्मी र नेपालका लागि चिनियाँ राजदूत यु होङबीच तालिम केन्द्रको संरचना हस्तान्तरणसम्बन्धी सम्झौतापत्रमा हस्ताक्षर भयो । तीन सय १८ रोपनी क्षेत्रफमा फैलिएको सो प्रतिष्ठान निर्माणका लागि चीनबाट रु तीन अर्ब ६० करोड सहयोग उपलब्ध भएको थियो । चाइना रेल्वे कन्स्ट्रक्सन कम्पनीले सो निर्माण गर्ने ठेक्का पाएको थियो ।

नेपाल र चीनबीच २०७१ मङ्सिर २६ गते निर्माणसम्बन्धी सम्झौता भएकामा तत्कालीन उपप्रधानमन्त्री तथा गृहमन्त्री वामदेव गौतम र चिनियाँ विदेशमन्त्री वाङ यीले संयुक्त रुपमा विसं २०७१ पुस ११ गते प्रतिष्ठानको शिलान्यास गर्नुभएको थियो । विसं २०७२ वैशाख ३ गतेदेखि निर्माण सुरु भएको र गत जेठ २ गते निर्माण गर्ने लक्ष्य लिइएकामा निर्धारित दुई वर्षमै बनेको छ । त्यहाँ मुख्य शैक्षिक भवन, सभाकक्ष, कभर्ड हल, फुटबल मैदान, स्किमिङ पुल, जिम हल, हेलिप्याड, बास्केटबल कोर्ट, प्रशिक्षक तथा प्रशिक्षार्थी भवनलगायत संरचना छन् ।

संरचना हस्तान्तरण सम्झौतापछि गृहसचिव रेग्मीले प्रतिष्ठानको निर्माणले बलको व्यावसायिकता, क्षमता र सीप अभिवृद्धि गर्न मद्दत पुग्ने विश्वास व्यक्त गर्नुभयो । राजदूत होङले प्रतिष्ठान निर्माण सुरु भएको केही दिनमै नेपालमा आएको भूकम्पका कारण निर्माणमा समस्या परे पनि तोकिएको अवधिमा निर्माण भएकामा खुसी व्यक्त गर्नुभयो ।

बलका महानिरीक्षक सिंहबहादुर श्रेष्ठ र प्रतिष्ठानका कार्यकारी निर्देशक रामशरण पौडेलले प्रतिष्ठानको संरचना विश्वस्तरीय रहेको र यसले २१औँ शताब्दीको सुरक्षा चुनौतीलाई सामान गर्ने गरी तालिम प्रदान गर्न सकिने विश्वास व्यक्त गर्नुभयो । सो अवसरमा निर्माण ठेकेदार ‘चाइना रेल्वे कन्स्ट्रक्सन कम्पनी’लाई सम्मान गरिएको थियो ।

प्रकाशित : १६ असार २०७४, शुक्रबार ००:००