६ जेष्ठ २०८१, आइतबार । May 19, 2024

मुख्य खबर

संविधान कार्यान्वयन गर्न निर्वाचन आवश्यकः महासचिव पोखरेल



विराटनगर, ९ असार । नेकपा एमालेका महासचिव ईश्वर पोखरेलले संविधान कार्यान्वयन र सिंहदरबारको अधिकार जनताको हातमा पु¥याउनका लागि निर्वाचन अपरिहार्य भएको बताउनुभएको छ ।

प्रेस चौतारी मोरङद्वारा आज विराटनगरमा अयोजित पत्रकार भेटघाटमा उहाँले दोस्रो चरणअन्तर्गत हुने निर्वाचनलाई स्वच्छ, निश्पक्ष र भयरहित वातावरणमा सम्पन्न गराउनु राजनीतिक दललगायत सम्बन्धीत सबै पक्षकोे साझा दायित्व हो भन्नुभयो ।

महासचिव पोखरेलले निर्धारित समयभित्रै तीनवटै तहको निर्वाचन गराउनुपर्ने उल्लेख गर्दै स्थानीय सरकार बनेपछि मात्र सिंहदरबारको अधिकार जनताको हातमा पुग्ने विश्वास व्यक्त गर्नुभयो ।

पहिलोचरणको तुलनामा दोस्रो चरणको निर्वाचनमा एमालेले अझ राम्रो गर्ने विश्वास व्यक्त गर्दै उहाँले प्रदेश नं– २ को निर्वाचनको मिति सार्ने काम गैरजिम्मेवारपूर्ण भएको बताउनुभयो ।

पत्रकारद्वारा सोधिएको एक प्रश्नको जवाफमा उहाँले द्वन्द्वपीडितलाई राहतको नाममा रु ६ अर्ब वितरण गरेर सरकारले निर्वाचन आचारसंहिता उल्लङ्घन गरेको आरोप लगाउनुभयो ।

यी घटनालगायत अन्य आचारसंहिता उल्लङ्घनको विषयमा एमालेले निर्वाचन आयोग र सरकारलाई ध्यानाकर्षण गराएको पनि बताउनुभयो ।

प्रकाशित : ९ असार २०७४, शुक्रबार ००:००