६ जेष्ठ २०८१, आइतबार । May 19, 2024

मुख्य खबर

श्रीमान् वैदेशिक रोजगारीमा, श्रीमती स्वरोजगारीमा



रामेछाप, ८ असार । श्रीमान् वैदेशिक रोेजगारीमा गएपछि श्रीमती घर परिवार चलाएर मात्रै बस्ने मान्यता विपरीत रामेछाप नगरपालिका, रामपुरका धेरै महिलाले आफैँ स्वरोजगारको बाटो अँगाल्न सुरु रहेका छन् ।

श्रीमान्ले विदेशबाट पठाएको रकममा निर्भर हुनुको साटो परिवारका लागि आयस्रोतका विभिन्न पेसा आफैँ गरी उनीहरु आत्मनिर्भर बन्न थालेका हुन् । यसबाट एकातर्फ परिवारको आयस्रोत र बचत बढाएको छ भने अर्कोतर्फ समयको सदुपयोग भएको छ ।

रामेछाप नगरपालिका ज्यामिरबोटकी गोमा श्रेष्ठका श्रीमान् वैदेशिक रोजगारीको क्रममा डेढ वर्षदेखि साउदीअरबमा होटलमा काम गर्नुहुन्छ । उहाँले मासिक करिब रु ४० हजार कमाउनुहुन्छ । श्रीमान्को कमाइ रामै्र भए पनि गोमाले गाउँमै १० वटा बाख्रा पाल्नुभएको छ ।

सुरक्षित आप्रवास परियोजना(सामी)ले गत वर्ष सञ्चालन गरेको वित्तीय साक्षरता कार्यक्रममा सहभागी भएपछि उहाँमा आफँै केही गर्नुपर्छ भन्ने भावना जाग्यो । श्रेष्ठले भन्नुभयो, तालिम लिनुअघि एक दुई वटा बाख्रा पालेको थिए, तर तालिमपछि अहिले १० वटा पु¥याएकी छु, एउटा दुहुनो भैँसी समेत पालेकी छु ।”

श्रेष्ठको जेठी छोरी चार कक्षामा र कान्छो छोरा एक कक्षामा स्थानीय विद्यालयमा पढ्छन् । आफूले पढ्न नपाए पनि छोराछोरीले धेरै पढ्न सकून भन्ने उहाँको चाहना छ । उहाँले भन्नुभयो, “अहिले आफ्नै कमाइले घरखर्च चलाउँछु, नपुगेको रकम मात्रै श्रीमान्ले पठाएकोबाट खर्च गर्छु । श्रीमान् स्वदेश फर्किए पनि घर खर्च चलाउन आफैँ एक्लैले सक्छु भन्ने विश्वास जागेको छ ।”

यसअघि श्रेष्ठका श्रीमान्ले युनाइटेड अबर अफ इमिरेट्स(युयई)मा चार वर्ष काम गर्नुभयो । तर त्यसबेला कमाइ राम्रो भएन । श्रीमान्ले पठाएको खर्चमा मात्रै निर्भर हुँदा बचत हुन नसकेको पछुतो अहिले श्रेष्ठलाई लागेको छ ।

उहाँले भन्नुभयो, “अहिले दुवै जनाले कमाउन थालेपछि केही रकम बचत भएको छ, बचत गरेको रकमबाट भक्तपुरको झौखेलमा घडेरी किनेका छौँ । घडेरी किन्दा लागेको ऋण दुवैजना मिलेर तिरिरहेका छाँै ।”

रामेछाप, रामपुरकी इन्दिरा श्रेष्ठका श्रीमान् वैदेशिक रोजगारीको सिलसिलामा मलेसिया गएको साढे दुई वर्ष भयो । मलेसियामा ग्लोभ कम्पनीमा श्रीमान्ले मासिक रु ३० हजार कमाउनुुहुन्छ । श्रीमान् विदेश गएपछि आफूले पनि केही गर्नुपर्छ भनेर एक वर्षअघि श्रेष्ठले घरमै रु १० हजार लगानी गरेर किराना पसल खोल्नुभयो । अहिले त्यसमा रु दुई लाखभन्दा बढी लगानी भइसक्यो । अब पसल विस्तार गरेर होलसेल नै चलाउने उहाँको योजना छ । दैनिक करिब रु पाँच हजारको सामान बिक्री हुने गरेको श्रेष्ठले बताउनुभयो ।

“किराना पसलसँगै साँझपख चटपटे र पानी पुरी बेच्ने व्यवस्था मिलाएकी छु,” उहाँले भन्नुभयो । पसलकै एउटा कुनामा सिलाइकटाइ गर्दै आएपनि मेसिन बिग्रिएकाले एक महिनादेखि त्यो काम रोकिएको छ । घरमा आफू र दुई साना छोरीमात्रै भएकाले उनीहरुलाई स्याहार्ने, विद्यालय पठाउनेदेखि घरको कामकाज आफैँ भ्याउनुपर्छ । उहाँका नौ वर्षीया छोरी चार कक्षामा तथा चार वर्षीया छोरी नर्सरीमा पढ्छन् ।

श्रेष्ठले किराना पसलमा पसलमा चुरोट, रक्सी, सुर्तिजस्ता वस्तु बेच्नुहुन्न । ती वस्तुमा बढी फाइदा हुने भए पनि स्वास्थ्यका लागि हानिकारक हुने भएकाले आफूले नबेच्ने प्रण गरेको उहाँको भनाइ छ । पहिला पैसा खर्च गर्ने बचत नगर्ने उहाँको बानी थियो । श्रेष्ठले भन्नुभयो, “पहिले सय रुपैयाँ राखेर के हुन्छ भन्ने ठान्थे, अहिले त्यही सय रुपैयाँ जम्मा गर्दै गएर लाख पुग्ने रहेछ भन्ने थाहा पाए । बचत गरेरै रामेछापकै साँगुटारमा घडेरी किनेका छौँ ।”

यस्तै रामेछाप झ्यासीङटारकी लक्ष्मी श्रेष्ठका श्रीमान् पनि पाँच वर्षदेखि रोजगारीका लागि युएईमा हुनुहुन्छ । वित्तीय साक्षरताको तालिम लिएपछि श्रीमान्ले पठाएको विप्रेषणको कसरी सदुपयोग गर्ने भन्ने उहाँले जानकारी पाउनुभयो ।

उहाँले भन्नुभयो, “मैले प्रत्येक दिनको पाँच रुपैयाँको पनि हिसाब लेखेर राख्ने गरेको छु । कति आयो कति गयो सबै दुरुस्त राखेकी छु । श्रीमान् आएर कुनै दिन पैसा खर्च कहाँ भयो भनेर सोध्नुभयो भने उहाँले पठाएको एक÷एक रुपैयाँको पनि हिसाब देखाउन मैले सक्छु ।”

श्रेष्ठले पहिला गाउँमा पैसा ब्याजमा लगाए पनि त्यो उठाउन गाह्रो परेको अनुभव सुनाउनुभयो । अहिले उहाँले स्थानीय सहकारीमा पैसा राख्न थाल्नुभएको छ । कृषि पेसालाई थप विस्तार गर्ने योजनामा उहाँ हुनुहुन्छ ।

सामी परियोजनाका रामेछाप संयोजक भोजराज सुनुवारले जिल्लाका रामपुर, पकरवास, बेथान, हिमगङ्गा, नागदहमा वैदेशिक रोजगारीको विषयमा आफूहरुले करिब ३०० जनालाई वित्तीय साक्षरता सम्बन्धि तालिम दिएको बताउनुभयो । विदेश जानुअघिको तयारी, लाग्ने खर्च, विदेशबाट प्राप्त हुने विपे्रषणको सदुपयोग, बचत वृद्धि, बचत परिचालन गरी स्थानीयस्तरमा उद्यमी बन्नेलगायत विषयमा तालिम दिएको उहाँले बताउनुभयो ।

विगतमा श्रीमान्ले कमाउँदा श्रीमतीले घरमै बस्ने र श्रीमान्ले पठाएको रकममा निर्भर हुने गरेका महिला अहिले आफैँ आत्मनिर्भर बन्दा आत्मविश्वास पनि बढ्दै गएको बताउँछन् ।

प्रकाशित : ८ असार २०७४, बिहिबार ००:००