६ जेष्ठ २०८१, आइतबार । May 19, 2024

मुख्य खबर

प्रमुख पदमा ७ महिला उम्मेदवार चुनावी मैदानमा



भीमदत्तनगर, ८ असार । कञ्चनपुरका नौवटा स्थानीय तहको निर्वाचनमा सातजना महिला प्रमुख पद हात पार्न चुनावी मैदानमा उत्रिएका छन ।

दुई नगरपालिका र सात गाउँपालिका रहेको कञ्चनपुरमा चारवटा नगरपालिकाको प्रमुख पदमा विभिन्न राजनीतिक दलबाट उम्मेदवारी दिएर महिला नेत्रीहरु चुनावी मैदानमा उत्रिएको जिल्ला निर्वाचन कार्यालय कञ्चनपुरले जनाएको छ ।

कञ्चनपुरमा साङ्गठनिक रुपमा कमजोर देखिएका दलहरुले महिलालाई प्रमुख पदमा टिकट दिएरअघि सारे पनि प्रमुख दलहरुले पनि प्रायः सबै तहमा महिला उम्मेदवारलाई उपप्रमुख र उपाध्यक्ष पदमा सीमित राखेका छन् ।

यहाँको जेठो भीमदत्तनगरपालिकाको प्रमुख पदमा राष्ट्रिय जनमोर्चाले मञ्जु दमाईंलाई प्रमुख पदमा उठाएको छ । त्यसैगरी, नेकपा (माले)बाट पनि भीमदत्तनगरपालिकाको प्रमुख पदमा महिला उम्मेदवार धौलीदेवी मल्ल (सिंह)ले उम्मेदवारी दिएर चुनावी माहोल तताइरहनुभएको छ ।

त्यसैगरी नयाँ शक्ति पार्टी नेपालले भीमदत्तनगरमा महिला नेत्री मायाँ नेगीलाई प्रमुख पदको उम्मेदवार बनाएको छ । महाकाली नगरपालिकामा राष्ट्रिय प्रजातन्त्र पार्टीले नन्दा खत्रीलाई प्रमुख पदमा उतारेको छ ।

राष्ट्रिय प्रजातन्त्र पार्टीले शुक्लाफाँटा नगरपालिकामा कलावतीदेवी ऐरलाई प्रमुख पदमा टिकट दिएर चुनावी घरदैलोलाई तीव्रता दिनुभएको छ । शुक्लाफाँटा नगरपालिकामै नयाँ शक्ति पार्टीले कमला भट्टलाई प्रमुख पदको उम्मेदवार बनाएको छ । नयाँ शक्तिले यहाँको दक्षिण क्षेत्रमा रहेको पुनर्वास नगरपालिकामा सत्यादेवी चापागार्इंलाई प्रमुख पदको उम्मेदवार बनाएको छ । प्रमुख पदमा महिला उम्मेदवार बनाउने दलमा पूर्व प्रधानमन्त्रीसमेत रहनुभएका डा बाबुराम भट्टराईको नयाँ शक्ति पार्टी अग्रस्थानमा देखिएको छ ।

नयाँ शक्ति पार्टीबाट भीमदत्त नगरपालिकाको प्रमुख पदमा उम्मेदवार रहनुभएका मायाँ नेगीले भीमदत्तमा पार्टीको सङ्गठन कमजोर रहे पनि मतदाता नयाँ शक्तिप्रति आकर्षित रहेको बताउनुभयो । “चुनावमा होमिएको कान्छो पार्टी भएकाले सङ्गठन बन्ने क्रममा छ,” नेगीले रासससँग भन्नुभयो – “नयाँ शक्तिलाई नै नयाँ विकल्पका रुपमा बुझेका मतदाताबाट राम्रै सहयोग पाउनेमा आशावादी छु ।”

निर्वाचनबारे मुलुकभर चर्चा भइरहँदा प्रमुख पदमा उम्मेदवारी दिएको महिलाका विषयमा सञ्चारमाध्यमले स्थान नदिएको उहाँले गुनासो पोख्नुभयो ।

“महिलाले पनि भूमिका पाए निर्वाह गर्न सक्छन् भन्ने कुरो हाम्रो पार्टीले बुझेकाले नै यहाँ धेरै नगरका महिलालाई स्थान दिएको हो” – नेगीले भन्नुभयो ।

त्यसैगरी राष्ट्रिय प्रजातन्त्र पार्टीबाट शुक्लाफाँटा नगरपालिकाको प्रमुख पदमा चुनावी प्रतिस्पर्धामा उत्रिनुभएका कलावतीदेवी ऐर पाकापुस्ता आफ्नो पक्षमा रहेको दाबी गर्नुहुन्छ ।

विसं २०४९ मा झलारी गाविसको पूर्व उपाध्यक्षसमेत रहिसक्नुभएका ऐरले विगत दुई महिनादेखि चुनावी घरदैलोलाई तीव्रता दिनुभएको छ । विसं २०७० सालको संविधानसभाको निर्वाचनमा समेत राप्रपाबाट क्षेत्र नं २ बाट निर्वाचन लड्नुभएका ऐरले मतदाताले हिन्दुत्वका कारण पनि मत दिने आशा प्रकट गर्नुभयो ।

काँग्रेस, एमाले र माओवादी केन्द्रको सङ्गठन जिल्लामा बलियो रहेकाले साना दलहरुबाट प्रमुख पदको टिकट पाए पनि महिला उम्मेदवारलाई निर्वाचनमा विजयी हासिल गर्न भने सहज देखिँदैन । काँग्रेस, एमाले र माओवादीमा भने महिलालाई केही नगरको प्रमुख पदमा उम्मेदवार दिने चर्चा चले पनि अन्ततः उपप्रमुखमा सीमित हुनपुगे । एमालेबाट टिकट वितरणका बेला भीमदत्तको प्रमुखमा नन्दादेवी धामीको नाम जिल्लाबाट सिफारिस भएको थियो । तर प्रमुख पदमा सुरेन्द्र विष्टले टिकट पाए भने काँग्रेसमा पनि भीमदत्तको प्रमुखमा केही समयसम्म मधु भारतीको चर्चा चले पनि त्यो सेलाएर गयो ।

महिलालाई प्रमुख पदमा प्रमुख दलहरुले उम्मेदवार नबनाएकाप्रति अधिवक्ता पुनम चन्दले असन्तुष्टि जनाउनुभयो । “महिलाहरु अझै पनि नेतृत्व र निर्णायक तहमा पु¥याउन ठूला दलहरुले आनाकानी गरेको देखियो,” अधिवक्ता चन्दले रासससँग भन्नुभयो – “उपप्रमुख पनि महिलाले दयामायाले भन्दा पनि कानुनी व्यवस्थाका कारण पाएका हुन् ।” कानुनले प्रमुख वा उपप्रमुखमा महिला अनिवार्य गरेपछि ठूला दलले उपप्रमुखमा महिलालाई बाध्य भएर टिकट दिनुपरेको उहाँको भनाइ थियो ।

टिकट वितरणका बेला कञ्चनपुरका नौवटा तहमध्ये तीनवटा नगरपालिकामा प्रमुख पदमा महिलालाई उम्मेदवार बनाउन आग्रह गरिए पनि बेवास्ता गरिएको चन्दको भनाइ छ ।

प्रकाशित : ८ असार २०७४, बिहिबार ००:००