२ जेष्ठ २०८१, बुधबार । May 15, 2024

मुख्य खबर

पत्रकार पनि चुनावी मैदानमा



बागलुङ, २६ वैशाख । अघिपछि सञ्चार क्षेत्रमा व्यस्त हुने ज्ञानेन्द्र गौतम अहिले मतदाताको घरदैलोमा छन् । नेपाली काँग्रेसका तर्फबाट बागलुङ नगरपालिका–११ को वडाध्यक्ष पदमा उम्मेदवार बनेपछि ३६ वर्षीय गौतमको दैनिकी बदलिएको हो । गाउँ विकासको योजना सुनाउँदै मतदाताको मन जित्ने कसरतमा गौतम लागिपरेका छन् ।
दुई दशकदेखि पत्रकारिता गर्दै आउनुभएका गौतम स्थानीय तहको निर्वाचनसँगै राजनीतिमा होमिएका हुन् । नेपाल प्रेस युनियनका केन्द्रीय सदस्यसमेत रहनुभएका गौतमले बाँकी जीवन सक्रिय राजनीतिमा बिताउने बताउनुभयो । “पार्टीले विश्वास गरेर उम्मेदवार बनाएको छ”, रायडाँडाका स्थायी बासिन्दा गौतमले भने “अब गाउँको विकासमा प्रतिबद्ध भएर लाग्छु ।”
आफू राजनीतिक यात्रामा हुँदा पनि सञ्चार क्षेत्रको विकासका लागि काम गर्ने बताउँदै उहाँले नागरिकका आधारभूत आवश्यकता परिपूर्ति र समतामूलक विकासमा ध्यान दिने उल्लेख गरे ।
“ठूलो आश्वासन दिएको छैन, नागरिकको दुःख सुखमा साथ दिनेछु”, गौतमले भने – “पछाडि पारिएको रायडाँडालाई विकास र समृद्धितर्फ लैजाने योजना छ ।” गौतम अहिले पार्टीका अगुवा नेता, कार्यकर्तासँगै चुनावी प्रचारमा जुटेको छ ।
गौतम सदरमुकामस्थित सामुदायिक रेडियो बागलुङ एफएमको स्टेसन म्यानेजर र ई–बागलुङ अनलाइन पत्रिकाको सम्पादकसमेत हुनुहुन्थयो । गौतमले यसअघि अन्नपूर्ण पोष्ट राष्ट्रिय दैनिकलगायतका सञ्चारमाध्यममा काम गरेका थिए ।

प्रकाशित : २६ बैशाख २०७४, मंगलबार ००:००