११ बैशाख २०८१, मंगलबार । April 23, 2024

Breaking

थारु विद्यार्थीलाई सहरी मन्त्रीको सुझाव : सिमान्तकृत समुदाय हौँ भनेर दंग नपरौँ



काठमाडौँ ।  सहरी विकास मन्त्री मेटमणि चौधरीले थारु समुदायलाई सिमान्तकृत हौँ भनेर दंग नपर्न सुझाएका छन् ।
पुल्चोक क्याम्पसमा शनिबार आयोजित थारु विद्यार्थी सभाको वार्षिक सभामा प्रमुख अतिथिका रुपमा बोल्दै मन्त्री चौधरीले यस्तो धारणा राखेका हुन् ।

थारु समुदायले दुःख, गरिबीका कुरा मात्र गर्ने गरेको बताउँदै मन्त्री चौधरीले भने, ‘अब हामीले दुःखका, गरिबीका गीत मात्रै गाउने होइन । सिमान्तकृत समुदाय हौँ भनेर दंग पर्ने होइन । हिम्मतका, मिहिनेतका कुरा गर्नुपर्छ । सफलताका कथा सुन्नुपर्छ । दंगिशरण चौधरी राजा भएको इतिहास छ ।

थारुहरु प्रधानपञ्च, हेड मास्टर भएको इतिहास छ । पञ्चायतकालमा परशुनारायण राजदरबारका स्थायी सदस्य भएका थिए ।’
उतिबेला थारुहरुले समाजको अगुवाइ गरेको प्रशंग निकाल्दै मन्त्री चौधरीले थपे, ‘त्यो बेला पनि समाज मिश्रित थियो । आज पनि मिश्रित नै छ । त्यतिबेला नेतृत्व गरेको थारु समाज आज किन पछाडि पर्याे भनेर हामीले सोच्नुपर्छ ।

फेरि पनि हामीले समाजको अगुवाई गर्ने हिम्मत गर्नुपर्छ ।’
इन्जिनियरिङ पढ्नु आफैमा राम्रो भएको बताउँदै सहरी मन्त्री चौधरीले राजनीतिमा पनि अगुवाई गर्न थारु विद्यार्थीहरुलाई आग्रह गरेका थिए ।

प्रकाशित : ९ पुस २०७९, शनिबार ००:००