३ जेष्ठ २०८१, बिहिबार । May 16, 2024

Breaking

सुरूङ खन्ने मजदुरलाई हौस्याउँदै प्रधानमन्त्रीले भने ‘काम राम्ररी गर्नु ल’ !



काठमाण्डौ ९ फागुन । हरेक वर्ष फागुन ९ गते इन्द्रदहमा आयोजना हुने पर्यटन महोत्सवमा सरिक हुने र त्यहाँ पर्याप्त समय दिएर फर्किने प्रधानमन्त्री केपी शर्मा ओलीको कार्य तालिका यसवर्ष केही परिवर्तन भयो ।

कारण थियो – इन्द्रदहकै दक्षिणतर्फको फेदिमा सुरु भइरहेको नागढुंगा नौबिसे सुरूङमार्गको पूर्वी प्रवेशद्वारको निरीक्षण।

देशलाई सम्मृद्धितर्फ लैजान रेल र पानी जहाजसम्मको पूर्वाधार विकासको मार्ग देखाएका प्रधानमन्त्री ओलीको प्राथमिकतामा सुरूङमार्ग समेत पर्छ ।

डाँडाकाँडा उकालो ओरालो तथा असङ्ख्य घुम्तिहरु पार गर्दै हिड्ने सडक अब सुरूङमार्गबाट निमेष भरमै यसअघि कयौं घन्टा लाग्ने मार्ग पार गर्दैछ ।

देश अब सुरूङ युगमा प्रवेश गरिसकेको बताउने प्रधानमन्त्री ओलीले दहचोकको डाँडाको टुप्पोमै जनतालाई हौस्याउँदै भने ‘अब थानकोटबाट फुत्त नौबिसे पुग्ने दिन आउँदैछ’।

इन्द्रदहको कार्यक्रम सकेर सुरूङको प्रवेशद्वार पुगेका प्रधानमन्त्री ओलीलाई आयोजनाका पदाधिकारीहरुले सुरूङको विशेषता, हाल भइरहेको कार्य, उत्पन्न चुनौति र कोभिडका कारण परेको असरबारे जानकारी गराए ।

कुल २.६८ किलो मिटर लम्बाईको दुई लेनको यो सुरूङमार्ग नेपालमै पहिलो पटक फ्लाई ओभर तथा तीनवटा पुल र दुई अण्डर पाससहित निर्माण हुँदैछ ।

यसमा पानी पटाउने, आकस्मिक उद्धार र सुरूङभित्र २४ सै घन्टा प्रकाश अक्सिजनको मात्रा सन्तुलन गर्ने प्रणाली र सिसिटिभिसमेत हुने छ ।

अधिकारीहरुबाट प्रारम्भिक विवरण सुनेपछि प्रधानमन्त्रीले त्यहाँ कार्यरत मजदुरहरुलाई धन्यवाद दिँदै काम राम्ररी गर्न हौस्याएका थिए ।

मुलुकका प्रधानमन्त्रीले आफूतिर हेर्दै धन्यवाद भनेपछि उत्साहित मजदुरहरुले प्रधानमन्त्रीसँग सामूहिक फोटो पनि खिचाएका थिए ।

गत २०१९ को नोभेम्बर महिनामा सुरु भएको ठेक्का मितिले ४२ महिना भित्र सम्पन्न हुनेछ ।

अहिले धुनिबेसी नगरपालिकास्थित सुरूङको पश्चिमी मार्गतर्फबाट ९० मिटर खनिएको छ भने पूर्वतर्फ चन्द्रागिरी नगरपालिकास्थित पूर्वी प्रवेश विन्दुमा २७ मिटर खनिएको छ ।

त्यहाँ कमलो माटोको भाग सकिएर कडा चटानको भाग सुरुभएपछि सुरूङ निर्माणले तिव्र गति लिने जानकारी पनि निर्माण पदाधिकारीहरुले दिएका छन् ।

प्रकाशित : ९ फाल्गुन २०७७, आइतबार ००:००