४ जेष्ठ २०८१, शुक्रबार । May 18, 2024

मुख्य खबर

विप्लव समूहले हिंसाको बाटो समातेको संकेत



काठमाण्डौ । मोरङ मिक्लाजोङका शिक्षक राजेन्द्र श्रेष्ठ हत्याको जिम्मेवारी नेत्रविक्रम चन्द विप्लव समूहले लिएसंगै नयाँ प्रश्न उब्जिएको छ । विप्लव समूहले हिंसाको बाटो समातिसकेको हो ?
यो घटना यस अघि यस समूहले गर्दै आएको दावी विरुद्ध छ । सरकारले प्रतिबन्धित घोषणा गर्दैगर्दा समेत उनीहरुले हामी भूमिगत नभइ जनताकै माझ रहेको र जनताले नै स्थापित गराउँने दावी गर्दै लोकतान्त्रिक ढंगबाटै पार्टी निर्माण र विस्तार गर्ने दावा गर्दै आएका थिए ।
काठमाण्डौ बम काण्ड, भोजपुर घटना बाहेक विप्लव समूहले सर्वसाधारणलाई अपहरण गरेर हत्या गरेको यो नै पहिलो घटना हो ।


एउटा आधारभूत विद्यालयका प्रधानध्यापकको हत्या गरेर विप्लप समूह के सन्देश दिन चाहान्छ ? संधै दोहोर्याउने प्रतिवद्धता विरुद्ध भूमिगत भइसकेको र हत्याहिंसाको बाटो लिएको ? यो घटनाले जवरजस्त एउटा सन्देश चाही प्रवाह गरेको छ । विप्लव समूहले महामारीमा राज्य अलमलिएका बेला राम्रै शक्ति सञ्चय गरेका छन् । सुरक्षा निकायको पूर्वी र ग्रामिण भेगमा विप्लव समूहले सैन्य शक्ति बढाई रहेको विश्लेषण थियो । यो घटनाले सत्य नजिक पुर्याएको छ । यो घटना आफुमा शक्ति सञ्चय भएको र भूमिगत बाटो समातीसकेको प्रष्ट सन्देश भएको समेत कतिपय विश्लेषकको भनाई रहेको छ ।
सुरक्षा अधिकारीहरुको बैठकमा प्रमुख सुरक्षा चुनौतीका रुपमा विप्लव समूह संधै विश्लेषण गरिए पनि त्यस्तो कुनै ठोस कदम उठाइएको छैन ।

सरकारले विप्लव समूहमाथी २०७५ फागुनमा २८ मा प्रतिबन्ध लगाउँदा प्रहरीलाई भेटेजति विप्लव समूहका कार्यकर्तालाई पक्राउ गर्ने आदेश थियो । त्यहि अनुसार प्रहरीले आक्रमक अप्रेशन चलायो । झण्डै २ हजार विप्लव समूहका कार्यकर्ता पक्राउ पनि परे तर नीतिगत अस्पष्टताका कारण अधिकांश कार्यकर्ता छुटिसकेका छन् । केहीलाई मात्र पुर्पक्षका लागि थुनामा राखिएको छ ।
आफ्नो प्रभावशाली नेतादेखि कार्यकर्तासम्म धमाधम पक्राउ पर्न थालेदेखि नै विप्लव समूहका भूमिगत भए । सकेसम्म पक्राउ नपर्ने नीति लिएको विप्लव समूहले सरकार कडा रुपमा प्रस्तुत भएसंगै ग्रामिण इलाकामा आफ्नो प्रभाव विस्तार गर्ने रणनीति लियो । कोरोना महामारीका बीच पनि समूहले ग्रामिण भेगमा गतिविधि जारी राखेका सुरक्षा निकायको नोटिसमा छ ।
मिक्लाजोङ घटनाले थप सुरक्षा चुनौती थपेको छ । घटना लगतै प्रदेश नम्बर १ का प्रहरी प्रमुख प्रहरी नायव महानिरिक्षक ईश्वरबाबु कार्कीले सर्च अपरेसन सुरु गरिएको जनाएका छन् ।

घटना भएको क्षेत्र धनकुटा, इलाम, पाँचथर र मोरङ जिल्लाका सिमानामा पर्ने भएकोले चारै जिल्लाको प्रहरीलाई सर्च अप्रेसन चलाउन निर्देशन दिइएको जनाइएको छ । तर घटनाको दोस्रो दिनसम्म आइपुग्दा पनि प्रहरीसंग विप्लव समूहको कार्यकर्तालाई पक्राउ गर्ने भरपर्दो सूचना छैन । सुराकीको आरोपमा शिक्षक हत्याबाट विप्लव समूहले हिंसाको बाटो अंगालेको संकेत गरेका छन् । यस समूहले पुरै हिंसाको बाटो रोज्छन या आफुलाई सच्याएर लोकतान्त्रिक बाटोमा आउँछन बाँकी यस समूहको नेताबाट आउने धारणा र गतिविधिबाट प्रष्ट हुनेछ ।

प्रकाशित : २४ मंसिर २०७७, बुधबार ००:००