१४ चैत्र २०८०, बुधबार । March 27, 2024

मुख्य खबर

तीन राजदूत अनुमोदित



काठमाडौँ, ८ माघ ।  सङ्घीय संसद्, संसदीय सुनुवाइ समितिले सरकारद्वारा विभिन्न मुलुकमा सिफारिश भएका तीन राजदूतलाई आज अनुमोदन गरेको छ ।

समिति बैठकले राजदूतमा सिफारिश भएका क्यानडाका लागि भृगु ढुङ्गाना, स्वीट्जरल्याण्डका लागि मणिप्रसाद भट्टराई र कुवेतका लागि दुर्गाप्रसाद भण्डारीलाई अनुमोदन गरेको हो । बैठकमा तीनै जनाले आआफ्नो कार्यानुभव र भावी कार्ययोजनाका बारेमा प्रस्तुति दिनुभएको थियो । समिति सदस्यले प्रस्तावित राजदूतका योजनामाथि जिज्ञासा राख्दै गर्नुपर्ने थप कामका बारेमा सुझाव दिनुभएको थियो ।
बैठकले सरकारले राजदूत सिफारिश गर्दा संविधानको समावेशिताको भावना र मर्मबमोजिम नभएको भन्दै आगामी दिनमा त्यस विषयलाई पालना गर्न सरकारलाई निर्देशन दिएको छ । सो विषयमा आगामी बैठकमा परराष्ट्रमन्त्रीलाई बोलाएर छलफल गरिने समिति सभापति लक्ष्मर्णलाल कर्णले जानकारी दिनुभयो ।

समितिबाट अनुमोदित तीनै जना परराष्ट्र मन्त्रालयका सहसचिव हुनुहुन्छ । मन्त्रिपरिषद्को गत पुस ६ र ९ गते बसेको बैठकले भट्टराईलाई संयुक्त राष्ट्र सङ्घका लागि नेपालको स्थायी नियोग, जेनेभाको स्थायी प्रतिनिधि एवं स्वीट्जरल्याण्डका लागि आवासीय तथा इटाली, सानमारियो र लिस्टेन्स्टाइनका लागि गैरआवासीय राजदूतमा सिफारिश गरेको थियो ।

सोही बैठकले ढुङ्गानालाई क्यानडाका लागि आवासीय र क्युबा तथा जमैकाका लागि गैरआवासीय राजदूत तथा भण्डारीलाई कुवेतका लागि आवासीय र इराकका लागि गैरआवासीय राजदूतमा सिफारिश गरेको थियो ।

प्रकाशित : ८ माघ २०७५, मंगलबार ००:००