३० चैत्र २०८०, शुक्रबार । April 12, 2024

Life Style

सरकारले डा केसीको जीवन रक्षा गर्छ : भट्टराई



बनियानी, ३ माघ।  नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का नेता एवं संसद्को शिक्षा तथा स्वास्थ्य समितिका सदस्य योगेश भट्टराईले सरकारले अनशनरत डा गोविन्द केसीको जीवन रक्षा गर्ने बताउनुभएको छ । 

प्रेस चौतरी र प्रेस सेन्टर झापाले आज बिर्तामोडमा संयुक्त रुपमा आयोजना गरेको पत्रकार भेटघाटमा उहाँले भन्नुभयो, “डा केसीसँग सरकारले छलफल र वार्ता गरेर ‘विन विन’को वातावरण सिर्जना गर्छ, सरकार लचिलो हुन्छ, अघि–पछि हट्छ, हठी हुँदैन ।” डा केसीको प्रतिष्ठा बचाउन हरसम्भव प्रयास गरिने नेता भट्टराईले बताउनुभयो ।

चिकित्सा शिक्षा विधेयकमा डा केसीको ९९ प्रतिशत माग सम्बोधन गरिएकाले हठ त्यागेर अनशन तोड्न उहाँले आग्रह गर्नुभयो । “चिकित्सा शिक्षा विश्वविद्यालय स्थापना गर्ने कुरा डा केसीकै माग हो”, २०६९ सालमा पहिलो पटक डा केसी अनशन बस्नुभएको स्मरण गराउँदै उहाँले भन्नुभयो, “विसं २०७० पुस २७ गतेयता पटक–पटकको अनशनमा चिकित्सा शिक्षा विश्वविद्यालय स्थापनाको माग उहाँले गर्दै आउनुभएको छ ।”

डा केसीकै मागअनुसार जाने हो भने आगामी १५ वर्षसम्म मुलुकमा मेडिकल कलेज स्थापना गर्न नसकिने उहाँको भनाइ थियो । चिकित्सा शिक्षा अध्ययनका लागि वार्षिक अर्बौं रुपैयाँ विदेशिने भएकाले त्यसलाई रोक्न जरुरी रहेको र चिकित्सा विधेयक पास भएपछि त्यस्तो अवस्थाको अन्त्य हुने उहाँले उल्लेख गर्नुभयो ।

“अहिले मापदण्ड नपुगेका मेडिकल कलेज पहुँचको भरमा चलिरहेका छन्, त्यस्ता कलेजको सम्बन्धन खारेज हुन्छ”, भट्टराईले भन्नुभयो, “चिकित्सा विधेयक पास भएपछि कुनै दलको नेता भएकै भरमा मेडिकल कलेज चल्दैन ।” मेडिकल कलेज सञ्चालनका लागि मापदण्ड पुगेको तीन सय श्ययाको अस्पताल तीन वर्ष चलेको हुनुपर्ने प्रावधान चिकित्सा विधेयकमा उल्लेख गरिएको समेत उहाँले जानकारी दिनुभयो ।

काठमाडौँमा विद्यार्थी बेच्ने कारखाना रहेको र त्यस्ता कारखानावालाले डा केसीलाई उचालेको नेता भट्टराईको आरोप थियो । “विदेशका मेडिकल कलेजमा कमिसन लिएर विद्यार्थी बेच्ने काम भइरहेको छ”, उहाँले भन्नुभयो, “त्यस्ता गिरोहले डा केसीलाई उचालेका छन् ।” विसं २०४८ मा काङ्ग्रेस नेतृत्वको सरकारले स्वास्थ्य र शिक्षा क्षेत्रमा गरेको फोहर वर्तमान सरकारले सफा गर्ने काम गरिरहेको नेता भट्टराईले उल्लेख गर्नुभयो ।

“काङ्ग्रेसले स्वास्थ्य र शिक्षा क्षेत्रमा विकृति भएको भन्नुअघि आत्मालोचना गर्नुपर्छ”, उहाँले भन्नुभयो, “काङ्ग्रेसले डा केसीलाई बोकेर मात्र हुँदैन ।” काङ्ग्रेसले आफ्नो खस्किँदो राजनीतिक प्रभावलाई जोगाउन भुल्काहरुको सहारा लिइरहेको नेता भट्टराईको भनाइ छ । सरकारले स्वास्थ्य र शिक्षा क्षेत्रमा लगानी बढाउँदै व्यवस्थित गर्दै जाने योजनामा रहेको उहाँले बताउनुभयो ।

त्यस्तै नेकपा पार्टी एकताको प्रसङ्गमा नेता भट्टरार्ईले एकताको प्रक्रिया माघ १० देखि १५ गतेसम्ममा टुङ्गिने बताउनुभयो । “एकता अन्तिम चरणमा पुगेको छ”, उहाँले भन्नुभयो, “पार्टी एकतापछि फागुन–चैतभित्रमा देशव्यापी अभियान सञ्चालन गरिनेछ ।”  तस्विर : रासस

प्रकाशित : ३ माघ २०७५, बिहिबार ००:००