५ जेष्ठ २०८१, शनिबार । May 18, 2024

समाचार

करातेकी एक्ली जमुना



भीमदत्तनगर । सुदूरपश्चिम प्रदेशमै खेल जगत्मा चिनिएको नाम हो जमुना बस्नेत । सितोरियो करातेका प्रशिक्षक बस्नेत महिला प्रशिक्षकका रुपमा प्रतिनिधित्व गर्ने एक्लो नाम हो ।

विसं २०४८ देखि करातेमा होमिएकी बस्नेतले गाउँ बस्तीमा खेलाडी उत्पादनमा अग्रणी भूमिका निर्वाह गर्दै आउनुभएको छ । “हामीले खेल्दा महिला घरबाट बाहिर जानै हुँदैन भन्ने मानसिकता थियो,” बस्नेतले आफूले खेल्दाको विगत सम्झिँदै भने, “अहिले खेलजगत्मा धेरै परिर्वतन आएकाले सहज भएको छ ।

सितोरियो करातेकी स्थायी प्रशिक्षक बस्नतेले २०५० सालदेखि निरन्तर रुपमा शुक्लाफाँटा नगरपालिका–१० झलारी बजारस्थित खेल प्रशिक्षण केन्द्रमा प्रशिक्षण दिँदै आएको छ । झलारीकै कराते प्रशिक्षक दानबहादुर खातीबाट उहाँले करातेको प्रशिक्षण लिएको हो । उहाँले २०५८ सालसम्म थुप्रै राष्ट्रिय प्रतियोगितामा सहभागिता जनाउनुका साथै पदक पनि जिते ।

“खेल्न थालेको महीना दिनमै धनगढीमा सम्पन्न आमन्त्रित अन्तर्राष्ट्रिय प्रतियोगितामा रजत पदक जिते,” बस्नेतले भन्नुभयो, “ विसं २०५१ मा करारमा प्रशिक्षक नियुक्त भएसँगै खेल्ने र खेलाउने दुवै काम गरेँ ।” उहाँकै सिको गरेरै सुदूरपश्चिममा धेरै महिला खेल कराते खेल्न थालेका हुन् ।

झलारी बजार छेउमै रहेको सुनवरा नदीको बगरमा उहाँले हाल खेलाडीलाई नियमित प्रशिक्षण दिँदै आएको छ । खेलबाट परिचय र सम्मान प्राप्त भएको उहाँले बताए । “खेलकूद अनुशासनको महत्वपूर्ण कडी हो,” बस्नेतले भने, “खेलमा मेहनतअनुसारको फल नपाउने कुरै आउँदैन ।”

पछिल्लो समय जिल्ला खेलकूद विकास समितिको लगानीका कारण खेल मैदानमा सुधार आइरहेको छ । “द्वन्द्वकालमा ७०÷८० खेलाडी प्रशिक्षणका लागि आउँथे,” बस्नेतले भने, “त्यतिचबेला विभिन्न चुनौतीका बीच ग्रामीण भेगमा बसेर खेल गतिविधि सञ्चालन गर्नुपर्ने बाध्यता थियो ।”

बस्नेतले प्रशिक्षण दिएका खेलाडीले राष्ट्रिय तथा अन्तर्राष्ट्रिय कराते प्रतियोगितामा विभिन्न पदक प्राप्त गरिरहेका छन् । राष्ट्रपति रनिङ शिल्डमा समेत उहाँकै खलाडीको दबदबा रहने गरेको छ । “सेना र प्रहरीमा जागिर खानेको सङ्ख्या धेरै छ,” उहाँले भने, “खेलेरै बाँच्न नसक्ने भएपछि धेरै खेलाडीले विकल्प खोज्न थालेका हुन् ।”

हरेक दिन प्रशिक्षणमा बिताउँदै आएकी बस्नेतले खेलकूदको विकास गाउँबस्तीतर्फ केन्द्रित हुनुपर्ने बताइन् । “खेलमा लगानीको आवश्यकता छ,” उहाँले भने, “ खेल खलेरै भविष्य बन्छ भनेर खेलाडीलाई आश्वस्त पार्नु जरुरी छ ।”

कराँते प्रशिक्षक विमल खडायत बस्नेतकै कारण करातेमा महिला खेलाडी आकर्षित भएको बताए । “दुई दशकअघि करातेप्रति महिलाको आकर्षण कमै थियो,” उहाँले भन्नुभयो, “समाज र घरपरिवारको चुनौतीको सामना गर्दै जमुना करातेमा समर्पित भइन् ।”

बस्नेतको खेलबाट लोभिएर नै सुदूरपश्चिममा अधिकांश महिला खेलाडी करातेप्रति आकर्षित भएको कराते प्रशिक्षक कर्मबहादुर सिंहले बताए । “जमुना करातेमा यस प्रदेशकै गौरव गर्न लायक खेलाडी तथा प्रशिक्षक हुन्,” प्रशिक्षक सिंहले भने । कञ्चनपुरमा हाल झलारीसँगै करीब दुई दर्जन सितोरियो कराते डोजो सञ्चालित छन् । हरेक डोजोमा प्रशिक्षणका लागि आउने खेलाडीमा अधिकांश महिला छन् ।

प्रकाशित : ३ माघ २०७५, बिहिबार ००:००