१४ चैत्र २०८०, बुधबार । March 27, 2024

मुख्य खबर

देशमा अशान्ति र अस्थिरता युगको अन्त्य : पूर्वप्रधानमन्त्री नेपाल



भक्तपुर । नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का वरिष्ट नेता एवं पूर्वप्रधानमन्त्री माधवकुमार नेपालले देशमा अशान्ति र अस्थिरताको युगको अन्त्य भएको बताउनु भएको छ ।
भक्तपुरबाट प्रकाशित हुने समय समाज साप्ताहिकको बुधबार आयोजित १४ औ वर्ष प्रवेश कार्यक्रममा बोल्दै उहाँले अब देशमा शान्ति र स्थिरता स्थापना भईसकेको बताउनु भएको हो ।
दुईतिहाईको वर्तमान् सरकार र नेकपाबाट जनताले विकास र समृद्धिको ठूलो आशा राखेको बताउदै उहाँले सरकारले अघि सारेको समृद्ध मुलुक र सुखी नेपालीको मिसनलाई पुरा गर्नुपर्ने बताउनुभयो । उहाँले देशको गरिबी र बेरोजगारीको चक्रव्यूहलाई अन्त्य गर्न सरकार सफल हुने बताउदै उहाँले सीप, उद्यमशिलता र प्राबिधिक शिक्षालाई गाउँगाउँमा पुर्याउनु पर्नेमा जोड दिनुभयो ।
देशमा पर्यटन र कृषिको विकास गर्न सके आर्थिक विकासमा ठूलो टेवा पुग्ने चर्चा गर्दै उहाँले सरकारले अघि सारेको परिचय वितरण कार्यक्रमले धेरै समस्या समाधान गर्ने उहाँको भनाई थियो ।
कार्यक्रममा प्रतिनिधीसभाका सांसद एवं पूर्वउद्योग मन्त्री महेश बस्नेतले पत्रकरिता क्षेत्र गलत ढंगले प्रयोग हुन थालेको चर्चा गर्दै उहाँले पत्रकारिताले समाजको चित्रण गर्नुपर्नेमा समाज परिवर्तनको काम गर्न थालेको बताउनुभयो ।
पत्रकारिता क्षेत्रले सही समाचार सम्प्रेषण गर्न नसक्दा डा् गोविन्द केसीको माग, वाईड बडी जस्ीता कुरामा गलत सन्देश जादा समाजमा नकारात्मक छाप बसेको उहाँको भनाई थियो ।
भक्तपुरको विकासमा अहिले पहिलाको भन्दा तीन गुणा बढी बजेट ल्याएर विकास निर्माणको काम तिब्र गतिमा भईरहेको बताउदै उहाँले मिडियाले पूर्वाग्राही रुपमा गलत मिसन बनाएर जान नहुने धारणा र।ाख्नुभयो ।
त्यसअवसरमा नेपाल पत्रकार महासंघका केन्द्रीय उपाध्यक्ष दीलिप थापामगरले समाचार लेखेकै भरमा पत्रकारलाई जेल हाल्ने कानून खारेज गर्नुपर्ने बताउनुभयो । समय समाज प्रकाशन प्रा.लि.का अध्यक्ष बालमुकुन्द सुवालको सभापतित्वमा सम्पन्न कार्यक्रममा प्रा.लि.का संचालक रामशरण देउजा, राजुराम मुनंकर्मी, पत्रिकाका सम्पादक सोम शर्मा (बजगाई) ले समाजको यथार्थ चित्रण गर्दै यो पत्रिकाले सत्य र तथ्यमा आधारित रहेर पत्रकारिता अगाडि बढाएको बताउनुभयो ।
कार्यक्रममा गोरखापत्र दैनिकका सम्वाददाता एवं नेपाल पत्रकार महासंघ गोरखापत्र शाखाका सचिव नगेन्द्र सापकोटालाई नगद रु. ५ हजार सहितको क्रियासिल पत्रकारिता पुरस्कार प्रदान गरेको छ ।
त्यसैगरि भक्तपुरमा रहेर निरन्तर रुपमा पत्रकारिता गर्ने ३० वर्ष नाघेका दबाब साप्ताहिकका प्रकाशक, सम्पादक तथा नेपाल पत्रकार महासंघ उपत्यका प्रदेशका सचिव अमर भुजु, नेपाल न्यूज साप्ताहिक र प्रक्षेपण दैनिकका प्रकाशक, सम्पादक विकल श्रेष्ठ र धरहरा टाईम्स साप्ताहिकका प्रकाशक, सम्पादक रमेश खड्कालाई पत्रकारिता दीर्घ सेवा सम्मान प्रदान गरि सम्मान गरेको छ । त्यसैगरी समय समाजले बेवारिसे सडक मानवको उद्धार, उपचार र संरक्षणमा सक्रिय संस्था मानव कल्याण समाज (सेवा घर) लाई १० हजार रुपैयाँ सहित प्रशंसापत्र र पत्रिका वितरकलाई नगद सहित प्रशंसापत्र वितरण गरेको छ ।

प्रकाशित : ३ माघ २०७५, बिहिबार ००:००