१२ श्रावण २०८१, शनिबार । July 27, 2024

मुख्य खबर

नार्ककै विषयमा अनुसन्धान गर्नुपर्छः कृषिमन्त्री खनाल



भरतपुर २ माघ ।   कृषिमन्त्री चक्रपाणि खनालले नेपाल कृषि अनुसन्धान परिषद् (नार्क) कै अनुसन्धान गर्नुपर्ने बताउनुभएको छ । 

राष्ट्रिय मकैबाली अनुसन्धान कार्यक्रम रामपुर चितवनको अवलोकनपछि आयोजित छलफल कार्यक्रममा मन्त्री खनालले नेपालका वैज्ञानिक पलायन हुने अवस्थाको अन्त्य गर्न अनुसन्धान केन्द्रमै अनुसन्धान गर्न आवश्यक रहेको बताउनुभयो । “नेपालका वैज्ञानिकको अनुसन्धान विगतमा सार्क मुलुकमा अग्रणी स्थानमा थियो” उहाँले भन्नुभयो, “वैज्ञानिकको हिजोको विरासत कहाँनिर टुट्यो ?”

उहाँले राज्यको नीति, वैज्ञानिकको काम गर्ने क्षमता अथवा देशमा वातावरण के कारणले वैज्ञानिक पलायन भए भन्नेबारे अनुसन्धान गर्नुपर्न बताउनुभयो । मन्त्री खनालले नार्कलाई कुनै आरोप लगाउने पक्षमा आफू नरहेको भन्दै कृषि क्षेत्रमा प्रगति गर्न नसक्नुको गल्ती कमजोरी खोजी गर्नुपर्ने बताउनुभयो । आधुनिक कृषि प्रणालीमा अनुसन्धान र किसानलाई प्रविधिमा जोड्न सकेमात्र लाखौँ विदेशिने नेपाली युवालाई स्वदेशमै रोक्न सकिने उहाँको भनाइ थियो ।

नार्कका परिषद् सदस्य मित्रराज दवाडी, किशोर दाहाल, भरतपुर महानगरका प्रमुख रेनु दाहाललगायतले कृषिमा वैज्ञानिकीकरण भनिए पनि परिणाममा आउन नसकेको बताउनुभयो । नार्कका कार्यकारी निर्देशक डा टेकबहादुर गुरुङले पछिल्लो समय नेपालमा प्रयोग भइरहेको प्रविधिका बारेमा जानकारी गराउनुभएको थियो ।

प्रकाशित : २ माघ २०७५, बुधबार ००:००