१३ चैत्र २०८०, मंगलबार । March 26, 2024

मुख्य खबर

देशमा अशान्ति र अस्थिरता युगको अन्त्य : वरिष्ठ नेता नेपाल



भक्तपुर, २ माघ ।   नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का वरिष्ठ नेता माधवकुमार नेपालले देशमा अशान्ति र अस्थिरताको युगको अन्त्य भएको बताउनुभएको छ । भक्तपुरबाट प्रकाशित हुने समय समाज साप्ताहिकको आज आयोजित १४ औँ वर्ष प्रवेश कार्यक्रममा उहाँले अब देशमा शान्ति र स्थिरता स्थापना भइसकेको बताउनुभयो ।

दुई तिहाइको वर्तमान सरकार र नेकपाबाट जनताले विकास र समृद्धिको ठूलो आशा राखेको बताउँदै उहाँले सरकारले अघि सारेको समृद्ध मुलुक र सुखी नेपालीको मिसनलाई पूरा गर्नुपर्ने बताउनुभयो । वरिष्ठ नेता नेपालले देशको गरीबी र बेरोजगारीको चक्रब्यूहलाई अन्त्य गर्न सरकार सफल हुने बताउँदै सीप, उद्यमशीलता र प्राविधिक शिक्षालाई गाउँगाउँमा पु¥याउनुपर्नेमा जोड दिनुभयो ।

सांसद महेश बस्नेतले पत्रकारिता क्षेत्रले सही समाचार सम्प्रेषण गर्न नसक्दा डा गोविन्द केसीको माग, वाइड बडीजस्ता कुरामा गलत सन्देश जाँदा समाजमा नकारात्मक छाप बसेको धारणा व्यक्त गर्नुभयो । भक्तपुरको विकासमा अहिले पहिलाको भन्दा तीन गुणा बढी बजेट ल्याएर विकास निर्माणको काम तीव्र गतिमा भइरहेको बताउँदै उहाँले मिडियाले पूर्वाग्राही रुपमा गलत मिसन बनाएर जान नहुने धारणा राख्नुभयो ।

नेपाल पत्रकार महासङ्घका केन्द्रीय उपाध्यक्ष दिलीप थापामगरले समाचार लेखेकै भरमा पत्रकारलाई जेल हाल्ने कानून खारेज गर्नुपर्ने बताउनुभयो । समय समाज प्रकाशन प्रालिका अध्यक्ष बालमुकुन्द सुवालको सभापतित्वमा सम्पन्न कार्यक्रममा प्रालिका सञ्चालक रामशरण देउजा, राजुराम मुनकर्मी, पत्रिकाका सम्पादक सोम शर्मा (बजगाई) ले समाजको यथार्थ चित्रण गर्दै यो पत्रिकाले सत्य र तथ्यमा आधारित रहेर पत्रकारिता अगाडि बढाएको बताउनुभयो ।

कार्यक्रममा गोरखापत्र दैनिकका संवाददाता नगेन्द्र सापकोटालाई रु पाँच हजारसहितको क्रियाशील पत्रकारिता पुरस्कार प्रदान गरिएको थियो । भक्तपुरमा रहेर निरन्तर पत्रकारिता गर्ने ३० वर्ष नाघेका दबाब साप्ताहिकका सम्पादक अमर भुजु, नेपाल न्यूज साप्ताहिक र प्रक्षेपण दैनिकका सम्पादक विकल श्रेष्ठ र धरहरा टाइम्स साप्ताहिकका सम्पादक रमेश खड्कालाई दीर्घसेवा पदक प्रदान गरी सम्मान गरिएको थियो ।

प्रकाशित : २ माघ २०७५, बुधबार ००:००