१६ चैत्र २०८०, शुक्रबार । March 29, 2024

मुख्य खबर

वाइड बडी प्रकरणमा दोषीमाथि कारवाही माग



काठमाडौँ, ३० पुस ।  विभिन्न राजनीतिक दलका नेताले नेपाल वायु सेवा निगमको वाइड बडी विमान खरीद प्रकरणमा संलग्न दोषीमाथि कारवाही गर्नुपर्ने माग गरेका गर्नुभएको छ ।

रिपोर्टर्स क्लबद्वारा आज यहाँ आयोजित साक्षात्कारमा नेताहरुले विमान खरीद प्रकरणमा संलग्न पूर्वप्रधानमन्त्री, मन्त्री वा सरकारी कर्मचारी जोसुकै भए पनि कारवाही गर्नुपर्ने माग गर्नुभयो । प्रतिनिधिसभा, सार्वजनिक लेखा समितिले पुस २३ गते नेपाल वायु सेवा निगमको सो विमान खरीदमा संलग्नमाथि अनुसन्धान गरी कानूनी कारवाही गर्न सरकार र अख्तियार दुरुपयोग अनुसन्धान आयोगलाई सिफारिश गरेको थियो ।

साक्षात्कारमा नेपाल कम्युनिष्ट पार्टी(नेकपा) का नेता खगराज अधिकारीले वर्तमान सरकार भ्रष्टाचारमुक्त देश निर्माणको अभियानमा लागेका सन्दर्भमा विमान खरीदमा संलग्न कसैले पनि उन्मुक्ति पाउन नहुने बताउनुभयो । उहाँले सरकार र संसद्ले प्रा डा गोविन्द केसीका सम्पूर्ण माग पूरा गरिसकेका सन्दर्भमा आमरण अनशन बस्नाको कुनै अर्थ पनि छैन भन्नुभयो ।

नेपाली काँग्रेसका नेता रामकृष्ण यादवले विमान खरीद प्रकरणमा पूर्वप्रधानमन्त्री नै दोषी भए पनि कारवाही हुनुपर्ने माग गर्नुभयो । सार्वजनिक लेखा समितिका सदस्य प्रदीप यादवले समितिका सभापतिले नै विमान खरीद प्रकरणमा दोषी मन्त्री र पूर्वमन्त्रीलाई कारवाही गर्ने विषय नै प्रतिवेदनबाट हटाएको भन्दै आपत्ति जनाउनुभयो ।

प्रकाशित : ३० पुस २०७५, सोमबार ००:००