१२ बैशाख २०८१, बुधबार । April 25, 2024

मुख्य खबर

बजेट तथा स्रोत समिति गठन



हेटौँडा, पुस ३० । प्रदेश नं ३ को प्रदेश नीति तथा योजना आयोगले बजेट तथा स्रोत समिति गठन गरेको छ ।

मुख्यमन्त्री डोरमणि पौडेलको अध्यक्षतामा बसेको आयोगको बैठकले आर्थिक मामिला तथा योजनामन्त्री कैलाश ढुङ्गेलको अध्यक्षतामा समिति गठन गरेको हो । समितिको उपाध्यक्षमा आयोगका उपाध्यक्ष डा खिमलाल देवकोटा हुनुहुन्छ । प्रदेश नीति तथा योजना आयोगका सदस्य, मुख्यमन्त्री कार्यालयका सचिव, आर्थिक मामिला तथा योजना मन्त्रालयका सचिव, नेपाल राष्ट्र बैंक प्रदेश कार्यालयका प्रमुख, प्रदेश कोष तथा लेखा नियन्त्रण कार्यालयका प्रमुखलाई सदस्य चयन गरिएको छ ।

त्यस्तै आर्थिक मामिला तथा योजना मन्त्रालयका बजेट योजना कार्यक्रम महाशाखाका प्रमुखलाई सदस्य सचिव चयन गरिएको आयोगका उपाध्यक्ष डा खिमलाल देवकोटाले जानकरी दिनुभयो ।

आयोगको आजकै बैठकले आयोगका उपाध्यक्ष देवकोटाको अध्यक्षतामा आवधिक योजना तर्जुमा समिति गठन गरेको छ । प्रदेशको आवधिक योजना आधार पत्रको मस्यौदालाई अन्तिम रुप दिन आवधिक योजना तर्जुमा समिति गठन गरिएको जनाइएको छ । समितिमा आयोगका सदस्य, मुख्यमन्त्रीको कार्यालय तथा सबै मन्त्रलयका सचिव सदस्य रहने एवं आयोगका सचिव, सदस्य सचिव रहने आयोगका शाखा अधिकृत चिरञ्जीवी पौडेलले जानकारी दिनुभयो ।

प्रकाशित : ३० पुस २०७५, सोमबार ००:००