१२ श्रावण २०८१, शनिबार । July 27, 2024

समाचार

अनशनमा पनि दोहोरी प्रा डा केसीलाई र थापा



इलाम । । प्रतिनिधिसभामा विचाराधीन चिकित्सा विधेयकमा आफूसँग भएको सहमति हुबहु सम्बोधन हुनुपर्ने अडान राख्दै आमरण अनशन बसिरहेका प्रा डा गोविन्द केसीलाई एक युवकले चुनौति दिएको छ । काठमाडौँ, कागेश्वरी मनहरा वडा नं २ निवासी २७ वर्षीय विजय थापा समितिले हालै बहुमतले पारित गरेको चिकित्सा विधेयक कसैको दवाव र प्रभावमा नपरी सार्वभौम संसद्बाट पारित हुनुपर्ने माग गर्दै यहाँ आमरण अनशन बसेको छ ।

काठमाडौँस्थित पशुपति बहुमुखी क्याम्पसका विद्यार्थी थापा मुख्य चोकस्थित लाँकुरी चौतारामा यही पुस २७ गतेदेखि अनशन थालेको हो । थापाले राखेका नौ मागमध्ये पहिलो माग नै प्रा डा केसीको मुख्य मागको ठीक विपरीत छ । त्रिवि शिक्षण अस्पताल महाराजगञ्जका हाडजोर्नी विशेषज्ञ प्रा डा केसीले इलाम बजारको पश्चिममा इन्द्रमाया लिम्बूको घरमा पुस २५ गतेदेखि अनशन सुरु गरेको हो । दुवै अनशनस्थलको दूरी एक किलोमिटरभन्दा कम छ ।
प्रा डा केसीले चिकित्सा विधेयकलाई विषय बनाएर आमरण अनशन बसेको यो १६ औँ पटक हो भने विद्यार्थी थापाको दोस्रो पटक हो । प्रा डा केसीले यसअघिको १५ औंँ अनशन तोड्दा भएका सम्झौता सरकारले हुबहु पालना नगरेका कारण १६ औंँ चरणको आमरण अनशन बस्नुपरेको उहाँका निकट सहयोगी धर्म गौतमले बताए । चाँडै सङ्घीय संसद्ले प्रा डा केसीका मागलाई विधेयकमा समेट्ने अपेक्षा गरिएको गौतमले बताए ।
थापाले काठमाडौंँ उपत्यका बाहिर इलामलगायत देशैभरि चिकित्सा कलेज खोल्न पाउने वातावरण निर्माण गर्न सरकारसँग माग गरेको छ । यो मागले समेत प्रा डा केसीलाई चुनौती दिएको छ । प्रा डा केसी उपत्यका बाहिरसमेत मेडिकल कलेज तत्काल खोल्न नदिनुपर्ने अडानमा छन् । प्रा डा केसीले कञ्चनपुरकी निर्मला पन्तको हत्यारालाई कारवाही हुनुपर्ने भनी अनशनको मागपत्रमा उल्लेख गरेको छ ।
थापाले बलात्कारजस्तो जघन्य अपराधलाई निरुत्साहन गर्न पन्तका हत्यारासहित सबै दोषीलाई फाँसीको सजायको व्यवस्था हुनुपर्ने माग गरेको छ । नेपालमा एमडी तथा पिजी क्लासको दरबन्दी कम्तीमा एक हजार ५०० पु¥याउने व्यवस्था तत्काल गर्न, अध्ययनका लागि वर्षेनी विदेशिने रु ७० अर्ब रोक्नका लागि प्लस टुमाथिको शिक्षा निःशुल्क गर्न, बङ्गलादेशबाट चिकित्सा विषय पढेर फर्कने क्रममा त्रिभुवन विमानस्थलमा जहाज दुर्घटनामा परी मृत्यु भएका १८ जनाको परिवारलाई तत्काल क्षतिपूर्तिको व्यवस्था गर्न, खाडी मुलुकमा रगत र पसिना बेच्न बाध्य नेपालीलाई स्वदेशमै सम्मानजनक रोजगारीको व्यवस्था गर्न आमरण अनशन बसेका थापाको माग छ ।
इलाममै जन्मेका थापाले आफ्ना बुवा भूतपूर्व नेपाली सैनिक भएको र आफू विभिन्न सामाजिक अभियानमा पहिलेदेखि नै निरन्तर लागिरहेको बताए । स्वदेशमा चिकित्सा कलेज खोल्न नदिने र विदेशका कलेजमा घरबारी बन्धक राखेर अभिभावकले आफ्ना छोराछोरीलाई पढाउन पठारहनुपरेको अवस्था देखेर गत वर्ष बैशाख १३ गते काठमाडौंँको खुलामञ्चमा पहिलो पल्ट आफूले निःशुल्क स्वास्थ्य, शिक्षा र रोजगारीको माग राखेर सत्याग्रह गरेको जानकारी उहाँले दिए ।
इलामकै भिन्न भिन्न स्थानमा आमरण अनशन भइरहेपछि इलामका बासिन्दा विभाजित बनेको पाइएको छ । दुवै अनशनस्थलमा नेपाल प्रहरीले सुरक्षा पहरा दिँदै आएको छ । दुवैका पक्षमा समर्थनका जुलूस निस्कन थालेका छन् ।

प्रकाशित : २९ पुस २०७५, आइतबार ००:००