१० चैत्र २०८०, शनिबार । March 24, 2024

अर्थ

तरकारी बेचेर मासिक डेढ लाख आम्दानी



रामपुर (पाल्पा), २२ चैत । रामपुर नगरपालिका–६ तालपोखराका नारायणप्रसाद भण्डारी तरकारीबाट यथेष्ट आम्दानी गर्छन् ।
उनले अहिले तरकारी बेचेर मासिक रु एक लाख ५० हजार बराबरको आम्दानी लिन सफल हुनुभएको छ । करिब २५ वर्षसम्म भारतमा काम गरेर फर्कनुभएका भण्डारीले व्यावसायिक रुपमा तरकारीखेती गरेर जिल्लाकै नमुना कृषकका रुपमा चिनिन्छन् ।
“जीवन जिउने आधार नै तरकारी खेती बनेको छ,” उहाँले भन्नुभयो– “यही व्यवसायबाट दाम र नाम मिलेको छ ।” जिल्लामै नमुना व्यावसायिक कृषकका रुपमा पहिचान बनाउन सकेकामा उनी खुसी छन् ।
बाह्र वर्षअघि दुईवटा घिरौँलाको बोटबाट भण्डारीले व्यवसाय सुरु गर्नुभएको हो । अहिले उहाँले सात रोपनी जग्गामा व्यवसाय विस्तार गर्नुभएको छ । मेहनत र जाँगर भयो भने यथेष्ट आम्दानी गर्न कुनै समस्या नहुने भण्डारीको भनाइ छ ।
बेमौसमी तरकारीले बजारमा उचित मूल्य पाएपछि त्यसतर्फ बढी ध्यान दिएको भण्डारी बताउँछन् । तरकारी व्यवसायबाट दुई छोरीको पढाइ खर्च, विवाह खर्चका लागि आफूलाई कुनै समस्या नपरेको उनको भनाइ छ । अहिले उनले काँक्रो, लौका, घिरौँला, फर्सी जातका तरकारी लगाएका छन् । यतिबेला उनलाई काँक्रा बेच्न भ्याइनभ्याई छ ।
“बेमौसमी उत्पादन भएकाले बजारमा अत्यधिक मात्रामा काँक्रा बिक्री भइरहेको छ,” भण्डारीले भने । आफूमा सीप, जाँगर र मेहनत छ भने घरमै दैनिक दुई÷तीन घन्टा काम गरेर पनि हजारौँ रुपैयाँ कमाउन सकिने उदाहरणीय पात्र बन्न सफल भएका छन् कृषक भण्डारी ।

प्रकाशित : २२ चैत्र २०७३, मंगलबार ००:००