१० बैशाख २०८१, सोमबार । April 22, 2024

मुख्य खबर

रत्नपार्कमा ‘वायु गुणस्तर मापन केन्द्र’ स्थापित



काठमाडौँ, १ चैत । जनसङ्ख्या तथा वातावरण मन्त्रालय र अन्तर्राष्ट्रिय पर्वतीय एकीकृत विकास केन्द्र (इसिमोड)को संयुक्त सञ्चालनमा स्थानीय रत्नपार्कमा ‘वायु गुणस्तर मापन केन्द्र’ स्थापना भएको छ ।
धुलोका कण तथा ग्यास, डिजेल, पेट्रोल, दाउरा, गुइँठा बाल्दा आउने धुवाँको मात्रा के कति छ भन्नेबारे सजिलै थाहा पाउन उक्त केन्द्र स्थापना गरिएको हो । केन्द्रको उद्घाटन गर्दै मन्त्रालयका सचिव डा. विश्वनाथ ओलीले विश्वमा नै प्रदूषणको समस्या रहेको सो यन्त्रबाट धुलो र धुवाँको मात्र कहाँ कति मात्रामा छ भन्ने सजिलै थाहा पाउन सकिने जानकारी दिए ।
इसिमोडका महानिर्देशक डेभिड मोल्डनले नयाँ प्रविधिअनुसार नेपाल सरकारसँग मिलेर आफ्नो संस्थाले विभिन्न क्षेत्रमा वायु गुणस्तर मापन केन्द्र स्थापना गरेको जानकारी दिए ।
इसिमोडको सहयोगमा हाल रत्नपार्क, पुल्चोक, धुलिखेल,सौराहा र लुम्बिनीमा ‘वायु गुणस्तर मापन केन्द्र’ स्थापना भइसकेको छ । आजै नेपालका लागि अमेरिकी राजदूतावास, कान्तिपथ र महाराजगन्जमा पनि ‘वायु गुणस्तर मापन केन्द्र’ स्थापना गरिएको छ । इसिमोडको प्राविधिक सहयोगमा राजदूतावासमा केन्द्र निर्माण गरिएको हो ।
सो अवसरमा नेपालका लागि अमेरिकी राजदूत अलाइन टेप्लिजले नेपालमा वातावरणीय सहकार्यमा अमेरिकाले लामो समयदेखि साथ दिएको बताउँदै आगामी दिनमा पनि सहयोग गरिने प्रतिबद्धता व्यक्त गरे ।

प्रकाशित : १ चैत्र २०७३, मंगलबार ००:००