१४ चैत्र २०८०, बुधबार । March 27, 2024

मुख्य खबर

वन दशक कार्यक्रम



भद्रपुर, २७ माघ । मुलुकको आर्थिक, सामाजिक तथा वातावरणीय पर्यावरणलई सन्तुलन कायम गरी दिगो वन विकासमा वन दशक २०७१–२०८१ कार्यक्रमले महत्वपूर्ण योगदान दिने भएको छ ।
विसं २०८१ सम्म सञ्चालन हुने वन दशक कार्यक्रमका लागि पहिलो वर्ष रु एक करोड ८० लाख २५ हजार, दोस्रो वर्ष रु एक करोड ६१ लाख ७६ हजार र यस वर्ष रु एक करोड ६४ लाख १७ हजार बजेट विनियोजन भएको जिल्ला वन कार्यालय भद्रपुरले जनाएको छ ।
वन दशक कार्यक्रमअन्तर्गत जिल्लाको हरेक निर्वाचन क्षेत्रका दुईवटा गाविसमा अस्पताल स्थापना गरिनेछ । निर्वाचन क्षेत्र नं १ मा बाहँुनडाँगी र मेचीनगर नगरपालिका, निर्वाचन क्षेत्र नं २ मा ज्यामिरगढी र हल्दीबारी, निर्वाचन क्षेत्र नं ३ मा भद्रपुर नगरपालिका, केचना र पाठामारी, निर्वाचन क्षेत्र नं ४ मा बुधबारे र कनकाई नगरपालिका, निर्वाचन क्षेत्र नं ५ मा टागनडुब्बा र कुमरखोद, निर्वाचन क्षेत्र नं ६ मा धरमपुर र लखनपुर तथा निर्वाचन क्षेत्र नं ७ मा गौरादह र गौरीगन्ज गाविस छनोट भई काम थालनी भइसकेको सहयाक वन अधिकृत देवेन्द्र उप्रेतीले जानकारी दिए ।
सो कार्यक्रमअन्तर्गत एक घर एक रुख, एक गाउँ एक वन, एक नगर अनेक उद्यान, निजी वन विकास तथा दर्तामा प्रोत्साहन कार्यक्रमले पहिलो वर्ष ४७ हेक्टर जग्गामा तथा दोस्रो वर्ष करिब ५० हेक्टर जग्गामा वृक्षरोपण गरिएको थियो । “यस वर्ष ४९ हेक्टरमा वृक्षरोपण गर्ने कार्यक्रम छ,” उप्रेतीले भने।
सामूहिक निजी वन विकास अनुदान कार्यक्रमअनुसार रु एक लाखका दरले पाँच जनालाई, उद्यम विकास अनुदान सहयोग कार्यक्रमअन्तर्गत दुई जनालाई रु ५० हजारका दरले, निजी वनलाई प्रोत्साहन गर्न पाँच वटा समूहलाई जनही रु १० हजारका दरले तथा सामुदायिक वन उपभोक्तामार्फत २५ हजार बिरुवा उत्पादन गराई प्रति बिरुवा रु छ का दरले उपलब्ध गराउने कार्यक्रम रहेको छ ।
वन दशक कार्यक्रम लागू भएको वर्ष २०७१ मा एक हेक्टर जग्गाका लागि एक हजार ६०० बिरुवा, एक घर एक बिरुवाका लागि दुई लाख १८ हजार तथा निजी, किसान, सङ्घ संस्थाका निम्ति एक लाख ५० हजार बिरुवा वितरण गरिएको थियो । चालु आवमा सात लाख बिरुवा वितरण गर्ने लक्ष्य वन कार्यालयको छ । जिल्लाको कुल एक लाख ५५ हजार ६६७ हेक्टर क्षेत्रफलमध्ये १९ हजार ५५७ हेक्टर क्षेत्र अर्थात् १३ प्रतिशत भूभाग वन क्षेत्रको रहेको छ ।

प्रकाशित : २७ माघ २०७३, बिहिबार ००:००