१० बैशाख २०८१, सोमबार । April 22, 2024

ग्लोबल

भूतपूर्व सैनिक सम्मेलनको तयारी पुरा



काठमाडौँ, २० माघ । जीवनको महत्वपूर्ण ऊर्जावान् समय, मुलुकको हित र विश्व शान्तिका लागि खर्चिएका भूतपूर्व सैनिकको धनगढीस्थित तेघारी ब्यारेकमा शुक्रबार हुने यसपटकको सम्मेलनको तयारी पुरा भएको छ ।
उक्त सम्मेलनमा सुदूरपश्चिम क्षेत्रका नौ जिल्लाका करिब दुई हजारको सङ्ख्यामा भूपू सेनाका एकल महिला र आश्रित परिवारले भाग लिने नेपाली सेनाले जनाएको छ ।
नेपाली सेनाले कल्याणकारी योजनालाई भूपू सैनिक र तिनका आश्रित परिवारको घरदैलोसम्म पु¥याएर सेवालाई प्रभावकारी तुल्याउन पाँचवटै विकास क्षेत्रमा सम्मेलनमार्फत उनीहरुको रायसुझाव सङ्कलन गर्दै आएको छ ।
नेपाली सेनाले अघिल्लो पटक पनि धनगढीबाट भूपू सैनिक सम्मेलनको थालनी गरेको थियो । कल्याणकारी योजनाअन्तर्गत लघुवित्त, शिक्षा, स्वास्थ्य र स्वरोजागारमूलक तालिमलाई प्राथमिकतामा राखेर अभियान चलाउँदै आएको छ ।
यसपटकको सम्मेलनमा सेनाले लघुवित्त कार्यक्रम अन्तर्गत सहुलियत ब्याजदरमा ऋण लिएर उत्कृष्ट नमुना व्यवसाय सञ्चालन गर्नेमध्येबाट पुरस्कृत गर्ने कार्यक्रम समेत बनाएको जनाएको छ ।
मुलुकभर भूपू सैनिकको सङ्ख्या ६५ हजारको हाराहारीमा छ । नेपाली सेनाले क्षेत्रगत रुपमा सञ्चालन गरेको सेवा प्रवाह केन्द्र इपीसेन्टर मार्फत भूपूलाई सबै सेवा सुविधा प्रदान गर्ने व्यवस्था मिलाएको छ ।
उमेर र पाखुरामा बल छउन्जेल मुलुकको राष्ट्रिय सुरक्षा सङ्गठनमा पसिना बगाएका सैनिकले सेवानिवृत्त भएपछि आर्थिक अभावले पिरोलिएर चौकीदारका लागि हारगुहार गर्नुपर्ने र परिवार पाल्नका लागि खाडी मुलुकतर्फ लाग्नुपर्ने बाध्यात्मक स्थितिको अन्त्य गरी जीवनस्तरमा सुधार ल्याउन नेपाली सेनाले कल्याणकारी योजनालाई शिष्ट र प्रभावकारी तुल्याउने कार्यक्रमलाई पहिलो प्राथमिकतामा राखेको छ ।

प्रकाशित : २० माघ २०७३, बिहिबार ००:००