१३ बैशाख २०८१, बिहिबार । April 25, 2024

अर्थ

बन्नेभो गिरानचौरमा अर्को एकीकृत बस्ती



मेलम्ची, २० माघ । सिन्धुपाल्चोक जिल्लाको मेलम्ची नगरपालिका–८ गिरानचौरमा सामुदायिक स्थायी एकीकृत नमुना बस्ती निर्माण हुने भएको छ ।
बुधबार राष्ट्रिय पुनर्निर्माण प्राधिकरणका कार्यकारी प्रमुख डा. गोविन्दराज पोखरेलले बस्ती निर्माणका लागि शिलान्यास गरे । गिरानचौरमा अब बन्न लागेको एकसय ५० वटा भूकम्प प्रतिरोधात्मक भवन धुर्मुस–सुन्तलीले यसअघि यही स्थानमा निर्माण गरेपछिको देशकै ठूलो बस्ती विस्तार योजना हो ।
शिलान्यासका क्रममा गिरानचौर पुगेका पोखरेलले अबको भावी पुस्ताले भूकम्पपश्चात् बन्ने एकीकृत बस्ती विस्तार योजनाले देशको नै चिनारी राख्ने बताए । एकीकृत नमुना बस्ती विस्तारको पथप्रदर्शक कलाकार धुर्मुस र सुन्तलीले जस्तै यो सामुदायिक एकीकृत बस्ती पनि उदाहरणीय हुने पोखरेलले बताए । पुनर्निर्माणको कार्यमा गिरानचौरमा निर्माण हुन लागेको बस्ती देशका लागि सन्देशमूलक कार्य भएकाले सबै स्थानीय मिलेर पुनर्निर्माणमा अगाडि बढ्न र एकसाथ जुट्न आग्रह गरे।
प्रमुख पोखरेलले विकासका पूर्वाधारलाई प्रयोग गरी सबै मिलेर आवास निर्माणमा लागे पुनर्निर्माण सम्भव रहेको भन्दै स्थानीयवासी मिलेर निर्माणमा अग्रसर भए सरकारले सक्दोे सहयोग गर्ने प्रतिबद्धता जाहेर गरे।
पुनर्निर्माणका लागि एकीकृत बस्ती मुख्य रहेको र निर्माण कार्यलाई अगाडि बढाउन दोस्रो किस्ता निर्णय गरेर सोमबार नै जिविसमा पठाइसकेको र प्रक्रिया मिलाएर तत्काल वितरण सुरु गरिनेसमेत प्रस्ट पारे।
हेलम्बु राजमार्ग अन्तर्गतको सिन्धुखोलाबाट चार किलोमिटर माथि रहेको गिरानचौरमा विभिन्न जातजातिका मिश्रितवासी रहँदै आएका छन् । भौगोलिक हिसाबले पनि असहज ग्रामीण भूभागमा पनि बस्ति निर्माण गर्न स्थानीयवासी अग्रसर हुनु देशकै लागि उदाहरणीय रहेको स्थानीय समाजसेवी तथा बस्ती विस्तार योजनाको प्रमुख गणेश तिवारीले बताए।
तामाङ, तिवारी र भट्टराई गरी एकसय ५० परिवारको सक्रियतामा अनुदानको भरमा घर बनाउन थालिएको तिवारीको भनाइ छ । ‘आफ्नो घर आफैँ बनाऔँ, विश्वसामु चिनाऔँ’ भन्ने नाराका साथ गिरानचौरका भूकम्पपीडितले आफ्नो घर बनाउन आफैँ लागिपरेका र यसले मेलम्ची नगरपालिका मात्र नभएर सिङ्गो नेपालकै लागि चिनारी बनेको मेलम्ची नगरपालिकाका कार्यकारी प्रमुख पूर्णप्रसाद दुलालले बताए।
गिरानचौरमा मात्रै धुर्मुस–सुन्तली फाउन्डेसनद्वारा बनेको नमुना बस्तीबाहेक एकसय पाँच तामाङ परिवार अझै पनि भत्केकै घर तथा टहरामा रात कटाउन बाध्य छन् ।
सहरी डिभिजन कार्यालयको तथ्याङ्कअनुसार ७८ हजार पाँचसय ३७ लाभग्राही सङ्ख्यामध्ये ७४ हजार नौ सय १२ लाई पहिलो किस्ता बाँडेर सकिएको छ । छुटेको भनेर गुनासो गर्ने मात्र १४ हजार चारसय ४७ रहेका छन् । दोस्रो किस्ताका लागि पाँच सय ४७ ले माग गरेका छन्, जसमा ४७ घरको मात्र प्रमाणित भएर आएको छ ।

प्रकाशित : २० माघ २०७३, बिहिबार ००:००