७ बैशाख २०८१, शुक्रबार । April 20, 2024

छापा खबर

भाषासेवी डिक बान्तावा ‘बुङ्वाखा–विष्णु–मकर बान्तावा राष्ट्रिय पुरस्कार २०७३’बाट पुरस्कृत हुने



भाषासेवी डिक बान्तावा ३० हजार रुपैयाँ राशिको ‘बुङ्वाखा–विष्णु–मकर बान्तावा राष्ट्रिय पुरस्कार २०७३’बाट पुरस्कृत हुने भएका छन् ।
बुङ्वाखा पुरस्कार छनोट उपसमितिको बैठकले हालै भोजपुरका बान्तावालाई पुरस्कार प्रदान गर्ने निर्णय गरेको हो । बान्तावा भाषामा लामो समयदेखि कलम चलाउँदै आएका उनको ‘किरात राई बान्तावा शब्दकोश’, ‘बान्तावा राई व्याकरण’लगायत कृति प्रकाशित छन् । उनले बान्तावा चलचित्रहरू ‘सायाबुङ’, ‘सिम्मा’ र ‘साइमा’को लेखन तथा निर्देशन पनि गरेका छन् ।

२० हजार रुपैयाँ राशिको ‘बुङ्वाखा–पञ्चकुमारी संगीत पुरस्कार’ गीतकार÷संगीतकार÷गायक बीबी रोक्दुङ (भक्त बहादुर राई)लाई प्रदान गरिने भएको छ । सिक्किम भारतमा जन्मिएका संगीतकर्मी रोक्दुङले ‘सेरेनाम लिसा’, ‘सिकेवा माकेवा’ र ‘छेन्चुक्लि’ एल्बम बजारमा ल्याइसकेको जनाइएको छ । ६ हजार रुपैयाँ राशिको ‘बुङ्वाखा–रनमाया चेन्चेक्वा पुरस्कार’ ‘बुङ्वाखा’ मासिकका उदयपुर संवाददाता टीकाराम बादिहाङलाई प्रदान गरिने बैठकपछि जारी विज्ञप्तिमा उल्लेख छ । ‘बुङ्वाखा–श्यामराज दुब्देङहाङ स्मृति पुरस्का’ बुङ्वाखाको बाह्रौं बान्तावा कविता प्रतियोगितामा पहिलो, दोस्रो र तेस्रो हुने कविहरूलाई प्रदान गरिनेछ । पुरस्कारको राशि क्रमशः १० हजार, ६ हजार र ४ हजार रहेको पत्रिकाका सम्पादक पदम राईले जानकारी दिएका छन् ।
मंसिर २४ गते उदयपुरमा हुने बुङ्वाखाको बाह्रौं वार्षिकोत्सव तथा बाह्रौं बान्तावा कविता प्रतियोगितामा पुरस्कारहरू अर्पण गरिने जनाइएको छ ।

प्रकाशित : २ मंसिर २०७३, बिहिबार ००:००