१४ चैत्र २०८०, बुधबार । March 27, 2024

Life Style

गाउंको उकाली ओरालीमा पानी बोक्ने बानीले बनायो अन्तराष्ट्रिय धाविका – मिरा राई



जनमुक्ति सेनामा पनि दुईवर्ष बसेकी थिईन् मिरा । घरको आर्थिक अवस्थाले त्यता लागेकी थिईन् । अघिल्लो वर्ष उनि काठमाण्डौ पसिन् । उनको साथमा थियो हरियो पासपोर्ट । एउटै उद्येश्य थियो उनको । अब विदेश गएर पैसा कमाउने ।

विदेश गएको भए कतै गुमनाम हुने थिईन । कसैले चिन्थेन होला । तर अहिले उनले देशकै नाम राख्न सफल भएकी छिन् । अहिले आफ्नो विगतका ति दिन धमिल्लीएको छ । सम्भावनाका किरणहरु देखिन थालेका छन् । यो अवसरलाई सही सदुपयोग गर्ने ध्याउन्नमा छिन् मिरा ।

चौविस वर्षिय खिरिलो ज्यान लिएर जमाचो गुम्वा उक्लीरहेकी भेटिन्छीन् मिरा । किन त ? अल्ट्रा म्याराथन विश्व विजेता बनीसकेकी उनको यात्रा यतिले मात्र पुग्दैन रे उनि यसै भन्छिन् । भोजपुर सानोदुङमाकी मिरा राई अहिले चर्चामा छिन् । फ्रान्समा सम्पन्न ८० किलोमिटर दुरीको अल्ट्रा म्याराथनमा १२ घण्टा ३२ मिनेट १२ सेकेण्डमा पार गरी पहिलो स्थान प्राप्त गरी विश्व च्याम्पीयन बनेपछि उसको चर्चा चुलीएको हो । यो स्थानसम्म पुग्न उनको पनि कम परिश्रम लागेको छैन । उनलाई पाखा पखेरीमा दौडीन कुनै तालिम आवश्यकता थिएन । जनयुद्धताका सिकेको करांते, गाउंघरको घांस दाउरा र पंधेरीको उकाली ओरालीलेनै पर्फेक्ट बनाईसकेको थियो उनलाई ।

उनको दौड यस्तो थियो की उनि दौडमा थाक्ने खालकै थिईनन् । गुरु ध्रुव विक्रम मल्लको सल्लाहमा पहिलो पटक हिमालयन आउटडोर फेस्टीवलमा दौडन पुगेकी थिईन् मिरा । जसमा उनि पहिलो बनेकी थिईन् । त्यस पछि भने उनको दौड जिन्दगी सुरु भएको थियो । उनि भन्छीन् ज्ञान बहादुर बोहरा सरले पनि उनलाई धेरैनै आवश्यक दौडका शिपहरु सिकाउनु भयो । हिमालयन आउटडोरको विजेता बनेपछि उनि इटाली पुगेकी थिईन ।

संघषपूर्ण बाल्यकाल
अन्तराष्ट्रिय स्तरमै स्थापित धाविकाको रुपमा आफूलाई उभ्याउन सफल मिरा राईको बाल्यकाल ज्यादै संघर्षपूर्ण रह्यो । आर्थिक पछौटेपनको कारण सानै उमेरमा घरपरिवारको गर्जो टार्न नून, तेल, चामल धनकुटाको हिले, पाख्रिवासबाट बोकेर ल्याएर स्थानीय बजारहरुमा बिक्री गर्ने कार्यमा समेत सरिक भएको अनुभव उनी संग छ ।

दैनिक एक किलोमिटर भन्दा टाढाको कुवाबाट उकालो बाटो भएर पानी ल्याउने कार्यमा सरिक भएको अनुभवलाई समेत पूरापुर सदुपयोग गरिरहेकी छिन् अहिले मिरा राई । किशोरावस्थामै तत्कालिन मावोवादी लडाकु भई केही वर्ष शिविरमा समेत रहेकी राई शान्ति प्रक्रिया पश्चात अयोग्य प्रमाणित भइ बहिर्गमनमा परेकी थिइन् । आफू र आफ्नो जन्मस्थान र नेपालको नाम सदा उच्च राख्न ट्रेल रेसमै समर्पित हुने योजनामा रहेकी मिराले बताईन् ।

 

अब डकुमेन्ट्रीमा मिरा
भोजपुरको सानोदुम्मामा जन्मे हुर्केकी नेपाली धाविका मिरा राईको जिवनीमा आधारित डकुमेण्ट्री बनेको छ । गत अक्टोबरमा हङकङमा सम्पन्न अल्टा ट्रेल रेस प्रतियोगितामा महिला तर्फको प्रथम स्थान हासिल गर्न सफल मिराको जिवन कहानीमा सम्वन्धित डकुमेन्ट्री बनेको हो ।
मिराको दौडबाट प्रभावित भएर हङकङबाटै डकुमेण्ट्री बनाउनका लागि लोयड बल्चर सानोदुम्मा आइपुगेका थिए । बल्चरले मिरा राईको बाल्यकाल सम्बन्धमा पारिवारिक अवस्था तथा गाउं वस्तीको भिडियो खिचे । यसक्रममा उनले सानोदुम्माको दुम्मा गढिको चुचुरो तथा यसको आसपासमा मिरा राईको दौड प्रत्यक्ष सुटिङ गर्न भ्याए । डकुमेण्ट्रीमा मिरा राईको बाल्यकालको अवस्थादेखि हालसम्मका प्रतिस्पर्धाहरुका भिडियो तथा फोटोहरु समावेश गरिनेछन् ।

अहिलेसम्मको सफलता
–फ्रान्समा सम्पन्न ८० किलोमिटर दुरी १२ घण्टा ३२ मिनेट १२ सेकेण्डमा पार गरी पहिलो स्थान प्राप्त गरी विश्व च्याम्पीयन
–हङकङमा सम्पन्न ५० किलोमिटर दुरी ५ घण्टा ३९ मिनेट ३१ सेकेण्डमा पारी गरी पहिलो स्थान प्राप्त गरी एशिया च्याम्पीयन
–इटालीमा सम्पन्न ५७ किलोमिटर दुरी ६ घण्टा ३० मिनेट ३२ सेकेण्डमा पारी गरी पहिलो पुन इटालीमा सम्पन्न ८० किलोमिटर दुरी ९      घण्टा १६ मिनेटमा पार गरी पहिलो स्थान
–हङकङमा सम्पन्न ५ किलोमिटर दुरी ४८ मिनेट ३२ सेकेण्डमा पार गरी पहिलो स्थान
–हङकङमा सम्पन्न ५० किलोमिटर दुरी ५ घण्टा ३० मिनेट ३२ सकेण्डमा पार गरी पहिलो स्थान
–नर्वेमा सम्पन्न ४५ किलोमिटर दुरी ७ घण्टा २३ मिनेटमा पार गरी दोस्रो
–नेपालमा सम्पन्न हिमालयन आउटडोर फेस्टीभल ५० किलो मिटर दौडमा प्रथम
–नेपालको मुस्ताङ ट्रायलरेस अल्ट्रामा १९२ किलोमिटरको दुरी २२ घण्टा ३४ मिनेट ३० सेकेण्डमा पार गरी पहिलो स्थान
–द नर्थ फेसले काठमाण्डौमा सम्पन्न गरेको अल्ट्रा म्याराथन ५० किलोमिटर दौडमा पनि पहिलो स्थान
–नेपालको तर्फबाट स्पेनमा यहि सेप्टेम्वरमा सम्पन्न १ सय दश किलोमिटर अल्ट्रा म्याराथनमा फस्ट रनर अप बनिन् ।

प्रकाशित : १३ कार्तिक २०७३, शनिबार ००:००