६ बैशाख २०८१, बिहिबार । April 18, 2024

तस्बिर

पूर्वको गोसाइकुण्ड तिम्बुङ



पाँचथर जिल्लाको सुदुरउत्तरी गाविस फलैंचा–०९ मा अवस्थित छ तिम्बुङ पोखरी । पाँचथर सदरमुकाम फिदिमदेखि १८ कोश दुरीमा अवस्थित यो स्थान ताप्लेजुङ्ग जिल्लाको कालीखोला र भारतको सिक्किमसँग जोडिएको छ ।
ऐतिहासिक, धार्मिक, साँस्कृतिक तथा जैबिक विविधताले प्रशिद्ध तिम्बुङ पोखरी पुग्न सदरमुकाम फिदिमबाट मेची राजमार्ग र पुष्ष्लाल मध्यपहाडी लोकमार्ग प्रयोग गरेर च्याङथापु हुँदै वा इलाम बजारबाट पशुपतिनगर, सन्दकपुर, फालौट मध्ये जुनसुकै बाटो भएर पुग्न सकिन्छ । यी दुई मध्ये जुनसुकै बाटो भएर गएपनि तिम्वुङ पोखरी पुग्न मोटरबाटोको सुबिधा पुगेका ठाँउवाट तीन दिनसम्म पैदल यात्रा गर्नैपर्छ ।timbu-2

हरेक वर्ष जेठदेखि असोजसम्म, स्वदेशी तथा विदेशी पर्यटक घुइचो लाग्ने भएपनि पोखरीका आसपासमा पर्यटकका लागि सुविधायुक्त होटल छैन । तसर्थ यहाँ पुग्ने पर्यटकले नजिकै उपलव्ध चौंरी गोठमा बस्नु वा टेष्ट स्लिपिङ ब्याग र खानपिनका सामग्री बोकेर चौरमै बासस्थान बनाएर बस्ने मध्ये एउटा बिकल्प रोज्नु पर्छ । तर यहाँ जाने पर्यटकले फालौट वा च्याङथापु जहाँवाट गएपनि याकलाई भारी बोकाएर जान सक्छन ।
समुद्री सतहवाट चारहजार तीनसय ३८ मिटर उचाईमा रहेको तिम्बुङपोखरीमा असोजदेखि वैशाख महिनासम्म हिउ पर्ने गरेकाले पुग्न कठिनाई हुन्छ । यहाँ जाने उपर्युक्त मौसम भनेको बैशाखदेखि असोज पहिलोसातासम्म हो ।

तिम्बुङ पोखरी समुद्री सतह देखि ४,२३८ मिटरको उचाइमा छ भने पोखरीको लम्बाइ करिब ४ सय मी र चौडाइ २ सय मिटर छ । यो पोखरीको गहिराइ भने हालसम्म मापन गर्न सकिएको छैन । timbu-5
यस पोखरीका आसपासमा शिवपोखरी, सूर्य कुण्ड, दुध कुण्ड ,हांस पोखरी मयुरपोखरी , नीरपोखरी लगायतका अठारवटा पोखरी छन भने कुम्भकर्ण हिमालको वरिपरि १ सय ७८ कुण्डहरु माला जस्तै रहेका छन । तसर्थ तिम्वूङ पोखरी क्षेत्रलाई पुर्वको गोसाँइ कुण्ड पनि भन्ने गरिएको छ ।
यहांको प्राकृतिक सुन्दरता र दृष्यहरु पशुपंक्षी रंगीचंगी फूलहरु, अनेकौं जडीबुटी अवलोकन गर्दा जो कोहिलाई स्वर्गानुभूति हुन्छ ।

तिम्बुङ पोखरी निकासबाट इवा नदीको उत्पती भएको छ । यो पोखरीको पानी सङ्गलो र पारदर्शी छ । यो पूर्वको ठूलो नदी तमोरको एक मुख्य शाखा हो । पोखरीमा तीर्थालुहरुले चढाएको पैसा र अन्य धातुहरु पोखरीका पिँधमा बिस्कुन झै प्रष्ट देखिन्छ । पोखरीको सतहमा छिनछिनमा कुहिरोले ढाक्ने र उघ्रने क्रम चलिरहन्छ । यो पोखरीको पानी बिरामीलाई खुवाएमा बिरामी निको हुन्छ भन्ने जनविश्वास रहेकाले यहां आउने यात्रीहरुले वोत्तलमा पानी लिएर जाने गर्छन ।
यस ठाउमा स्वच्छ हावापानी र आसपासमा अनेकौ प्रजातीका जडीबुटी छन । तिम्वङु पोखरी रहेको स्थानबाट खुल्ला मौसम भएका बेला कन्चनजंघा र कुम्भकर्ण लगायत विभिन्न हिमश्रृखंलाहरु, तराईका विशाल फांटहरु, अग्ला होचा पहाड र भारतको सिक्किम दार्जिलिङ्ग जस्ता ऐतिहासिक शहरहरुका मनमोहक दृश्यावलोकन गर्न सकिन्छ । timbu-3
पोखरीको वरीपरि फुल्ने क्यान्जो (फूल प्रजातिका जडिबुटि) ले वातावरण सुगन्धित र मनमोहक पार्छ । यस क्षेत्रमा विभिन्न रङ्ग्का लालीगुरास चिमल, क्यान्जो, माइको्पिला, सुनाखरी तथा विभिन्न प्रजातीका जडिबुटी रंगीविरंगी फूलहरु फूलेको बेला प्रकृतिको अनुपम सुन्दरता यहि पोखिए झै हुन्छ । यहाँ यार्सागुम्बा, पांचऔले , माइकोपिला, हाडजोड , पदमचाल क्यान्जो, कालो तथा सेतो विख्मा, कुड्की पाखनवेत, बुढोओखती, चिरैतो जातका औषधी र किटनाशक औषधीको रुपमा प्रयोग गर्न सकिने विषका बोटहरु तथा विभिन्न प्रकारका सुगन्धित धुपका रुपमा प्रयोग गर्न सकिने भैरुङ्पाती , सुनपाती , सिक्पा जस्ता वनस्पति तथा जीव जन्तुहरु पनि प्रशस्त पाइने भएकाले यस क्षेत्रमा रुची राख्ने अनुसन्धानकर्ताहरुका लागि उपयुक्त गन्तब्य समेत बनेको छ ।

रेडपाण्डा, भालु, कस्तुरी, वनभेडा, वँदेल, हिउँचितुवा समेत पाइने स्थानीय पशुपालक हरु वताँउछन । यस्तो रमणीयस्थान, वहुमुल्य वनस्पति तथा रेडपाण्डा जस्तो विश्वकै ध्यान तान्न सक्ने वन्यजन्तु र जरीवुटिले सम्पन्न तिम्बूङ पोखरीलाई देशकै महत्वपूर्ण पर्यटकिय क्षेत्र घोषित गरी पर्यटन विकास गर्नसक्के देशको अर्थतन्त्रमा ठूलो टेवा पुग्ने सक्ने देखिन्छ ।

तस्विर : भवानी तावा

प्रकाशित : २७ आश्विन २०७३, बिहिबार ००:००