२ जेष्ठ २०८१, बुधबार । May 15, 2024

समाचार

निलो बर्दीका प्रहरीले बहाना बनाउनु हुँदैन : प्रहरी महानिरीक्षक थापा



काठमाडौं। प्रहरी महानिरीक्षक शैलेश थापा क्षेत्रीले कुनै न कुनै पीडाले मात्र नागरिक प्रहरी कार्यालयमा आउने हुनाले निलो बर्दी लगाएको प्रहरीले दिनरात, झरी र ठन्डीको वहाना बनाउन नपाउने बताएका छन्।

देश र जनताको शान्ति सुरक्षा र अमनचनयको जिम्मेवारी पाएपछि जहिलेसुकै जनताको सेवामा समर्पित हुन निर्देशन दिए।

जिल्ला प्रहरी कार्यालय रामेछापको नयाँ भवनहरूको आज उद्घाटन गर्दै उनले उक्त निर्देशन दिएका हुन्।

उनले आम नागरिकको सुरक्षाप्रतिको चाहना, स्थानीय समुदायको सदासयता तथा नागरिकप्रति नेपाल प्रहरीको संयुक्त विम्बको रूपमा स्थापित गर्न सक्नुपर्ने पनि बताए।

यस्तै, महानिरीक्षक थापाले नयाँ कार्यालय तथा ब्यारेक भवनमा कार्यरत प्रहरी कर्मचारीलाई आम नागरिकका नैसर्गिक हक अधिकारको संरक्षण तथा सम्बद्र्धन, शान्ति सुरक्षा र न्यायका लागि अनन्तकालसम्म निष्पक्ष तवरबाट क्रियाशील रहन उत्प्रेरणा मिल्ने विश्वास उनले व्यक्त गरे।

भवन निर्माण कार्यमा उल्लेखनीय सहयोग पुर्याउने चारजनालाई प्रशंसापत्रसमेत महानिरीक्षक थापाले प्रदान गरे।

सो अवसरमा बागमती प्रदेश प्रहरी कार्यालय हेटौंडाका प्रमुख प्रहरी नायव महानिरीक्षक वसन्तकुमार लामाले धन्यवाद ज्ञापन गरे।

उक्त भवन सात करोड ५५ लाख ३३ हजार ६ सय ५ रूपैयाँ ५५ पैसाको लागतमा निर्माण कार्य सम्पन्न भएको हो।

प्रकाशित : ९ फाल्गुन २०७७, आइतबार ००:००