३० बैशाख २०८१, आइतबार । May 12, 2024

मुख्य खबर

मुलुक निर्वाचनमा गइसक्यो, जनतामा जान नडराऔँ : मन्त्री नेम्बाङ्ग



पाँचथर, २९ पुस । भौतिक पूर्वाधार तथा यातायात मन्त्री वसन्तकुमार नेम्बाङ्गले मुलुक निर्वाचनमा गइसकेकाले कुनै पनि लोकतान्त्रिक शक्ति जनतामा जान डराउनु नहुने बताउनुभएको छ ।
पार्टी भित्रैबाट सरकारलाई सफल हुन नदिने अवस्था आएपछि जनतामा जानुको विकल्प प्रधानमन्त्री केपी शर्मा ओली र सरकारसँग नरहेकाले प्रतिनिधिसभा विघटन गरी निर्वाचनको घोषणा गरिएको मन्त्री नेम्बाङ्गले बताउनु भयो। आज पाँचथरको फिदिम नगरपालिकाको आठौँ नगरसभाको उद्घाटन कार्यक्रमलाई सम्बोधन गर्दै मन्त्री नेम्बाङ्गले प्रतिनिधिसभामा ६४ प्रतिशत मत रहेपनि सरकार सबै तिरबाट अप्ठ्यारोमा परेपछि जनतामा जाने विकल्प रोजिएको बताउनुभयो । “पार्टी भित्रैबाट सरकारलाई चल्न नदिने अवस्था आएपछि मुलुकलाई जकट्याएर राख्नु हुन्छ”, मन्त्री नेम्बाङ्गले प्रश्न गर्नुभयो, “पार्टीबाट उत्पन्न गरिएका समस्या सरकारले कहाँ राख्ने ? त्यसैले जनतामा जानु परेको हो ।”
अभिमत लिन जनतामा जाने कुराभन्दा वैधानिक र लोकतान्त्रिक काम अरु हुन नसक्ने बताउँदै मन्त्री नेम्बाङ्गले निर्वाचनमा जाने कामले कसरी संघीय लोकतान्त्रिक गणतन्त्रात्मक व्यवस्थालाई समस्यामा पा¥यो ? भनी प्रश्न गर्नुभयो । “मुलुक डुब्ने, प्रतिगमन हुने, संघीय लोकतान्त्रिक गणतन्त्र धरापमा पर्नेजस्ता भ्रमले निर्वाचन रोकिदैन्”, नेम्बाङ्गले भन्नुभयो । सर्वोच्च अदालतले प्रतिनिधिसभा विघटनविरुद्धको रिटमा अन्तरिम आदेश नदिएकाले निर्वाचन निश्चित रहेको मन्त्री नेम्बाङ्गको स्पष्टोक्ति थियो ।
राष्ट्रिय स्वाधिनतालाई उच्च पार्दै मुलुकलाई विकास र समृद्धिको मार्गमा लैजाने कार्यमा सरकार लागेपनि आफ्नै दलबाट अवरोध सिर्जना गर्ने तथा सकारात्मक कामको समेत प्रचार नहुने अवस्था झेल्नु परेको मन्त्री नेम्बाङ्गले बताउनुभयो । “हालसम्म सरकारले गरेका ऐतिहासिक महत्वका कामहरु, भौतिक पूर्वाधार निर्माणका प्रगतिहरु तथा जनताको जीवनलाई प्रत्यक्ष प्रभाव पार्ने कामहरुमा भएको प्रगति लिएर हामी निर्वाचनमा जान्छौँ”, नेम्बाङ्गले भन्नुभयो, “निर्वाचनमा जान नडराऔँ ।” आन्दोलन गर्दैगर्दा चुनाव छुट्न सक्नेतर्फ अन्य दलहरुलाई सचेत गराउँदै मन्त्री नेम्वाङले भन्नुभयो, “जनताले त बैसाख १७ र २७ गते भोट हाल्नुहुन्छ नै, निर्वाचनको रेसमा जो कुद्यो त्यसैले जित्ने हो ।”
निर्वाचनले समृद्धिको अभियान नरोकिने बताउँदै मन्त्री नेम्बाङ्गले कोभिड–१९ सँग जुध्दा समेत मुलुकले २ प्रतिशत आर्थिक प्रगति हाँसिल गरेको उहाँले बताउनुभयो । “हामीले सुरुआत गरेका साना–ठूला कुनै पनि आयोजना अब निर्वाचनको कारण, बजेट अभावले रोकिदैनन्”, उहाँले भन्नुभयो, “बरु बजेट खर्च बढाउन सबै पक्षले प्रयास गरौँ ।” स्थानीय तहका जनप्रतिनिधिहरुले मध्यावधि निर्वाचनका विषयमा कुनै पनि भय वा शंका लिनुपर्ने अवस्था नरहेको वताउँदै उहाँले संविधानमा भएको ब्यवस्था कसैले मेट्न नसक्ने वताउनुभयो । अन्य दल तथा नेपाल कम्युनिष्ट पार्टी (नेकपा)कै ब्यक्तिहरुले समेत नेकपाको आधिकारिता, निर्वाचन लगायतका विषयमा चिन्ता लिनुपर्ने आवश्यकता नरहेको बताउँदै उहाँले निर्वाचन आयोग र सर्वोच्च अदालतले गर्ने विवेकपूर्ण फैसला सबैले स्वीकार्नुपर्ने बताउनुभयो ।
नगरसभामा नगर उपप्रमुख उर्मिला प्रधान श्रेष्ठले नगरपालिकाको गत आर्थिक वर्षको समीक्षा सहित चालु आर्थिक वर्षको संशोधित बजेट प्रस्तुत गर्नुभएको थियो । उहाँले रु. ८६ करोड ६३ लाख ५२ हजार ७३१ को संशोधित बजेट नगरसभामा प्रस्तुत गर्नुभएको हो । नगरसभा आजै सम्पन्न हुने नगर प्रमुख ओनाहाङ नेम्बाङ्गले बताउनुभयो ।

प्रकाशित : २९ पुस २०७७, बुधबार ००:००