५ बैशाख २०८१, बुधबार । April 17, 2024

खेलकुद

भलिबलको उपाधि आर्मीलाई



बेझाड, माघ  पाल्पाको रामपुरमा भएकोे अन्तर्राष्ट्रिय इण्डो नेपाल खुला पुरुष भलिबल खेलको उपाधि त्रिभुवन आर्मी क्लबले जितेको छ । आज भएको फाइनलमा चापाकोट नगरपालिका स्याङ्जालाई ३–२ सेटले पराजित गर्दै आर्मी क्लबले उपाधि हात पारेको हो । यससँगै चापाकोट द्वितीय स्थानमा सीमित भएको छ । फाइनल खेलको लगातार आर्मीले पहिलो र दोस्रो सेट २५ र १३, २५ र १८ अङ्कसहित जितेको थियो । तेस्रो र चौथो सेट चापाकोटले २५ र २१, २५ र २२ अङ्कका साथ हात पार्दै खेल बराबरीमा पु¥याएको थियो । निर्णायकका रुपमा रहेको पाँचौँ सेट त्रिभुवन आर्मी क्लबले १५ र ७ अङ्कसहित हात पार्दै उपाधि चुमेको हो ।

त्यस्तै इण्डियन रेलवेजले मणिमुकुन्द भलिबल क्लब रुपन्देहीलाई पछि पार्दै तृतिय स्थान हासिल गरेको छ । प्रतियोगितामा प्रथम, द्वितिय र तृतिय हुने समूहलाई क्रमशः नगद रु एक लाख ५० हजार, रु एक लाख र रु ५० हजारसहित ट्रफी, मेडल र प्रमाणपत्र रामपुर नगरपालिकाका नगर प्रमुख रमणबहादुर थापा र रामपुर उद्योग वाणिज्य सङ्घका अध्यक्ष भोजेन्द्र प्रकाश ढकालले प्रदान गर्नुभएको थियो ।

उद्योग वाणिज्य सङ्घको मुख्य आयोजनामा भएको दोस्रो रामपुर महोत्सवका अवसरमा पहिलोपटक अन्तर्राष्ट्रियस्तरको भलिबल प्रतियोगिता आयोजना गरिएको थियो । प्रतियोगितामा भारतका एक र नेपालका पाँच गरी छ समूहको सहभागिता थियो ।
–––

प्रकाशित : ७ माघ २०७५, सोमबार ००:००