८ श्रावण २०८१, मंगलबार । July 23, 2024

मुख्य खबर

प्रधानाध्यापकले रकम हिनामिना गरे



कालीकोट, २७ माघ । जिल्लाको पञ्चकोट आधारभूत विद्यालय फुकोटका प्रधानाध्यापकले छ वर्षको रु २१ लाख ४१ हजार ६१४ हिनामिना गरेको रहस्य खुलेको छ ।
स्थानीय अभिभावकले विद्यालयका बारेमा पटकपटक हिसाब किताब माग गरेपछि अटेर गरेका निवर्तमान प्रधानाध्यापक चन्दाखर सञ्ज्यालले विगत २०६६ सालदेखि ०७२ सम्मको विद्यालयको छात्रवृत्ति, दिवा खाजा, निजी स्रोतका शिक्षकको तलब, महिला तथा दलित छात्रवृत्ति लगाएतको रकम हिनामिना गरेको विद्यालय व्यवस्थापन समितिका अध्यक्ष जसी रोकायाले बताए ।
स्थानीय अभिभावकले विद्यालयका तत्कालीन प्रअ चन्दाखर सञ्ज्यालको छ महिनासम्मको तलब रोक्का गरेपछि जिल्ला शिक्षा कार्यालय कालीकोटमा दिएको निवेदनअनुसार जिल्ला शिक्षा कार्यालय कालीकोटका स्रोत व्यक्ति इन्द्रप्रसाद न्यौपाने संयोजक रहेको छानबिन समितिको टोलीले गरेको लेखा परीक्षणबाट सो रकम हिनामिना भएको पुष्टि गरेको हो ।
लामो प्रयासपछि विद्यालयका बारेमा चासो राख्ने अभिभावकको पहलमा हिसाब किताब गरिएको शिक्षक अभिभावक सङ्घका अध्यक्ष कालीबहादुर महताराले बताए ।
सञ्ज्यालले बेरुजु आएको रकम आफूले तलबबाट क्रमशः तिर्दै जाने सहमति भएको विद्यालयका प्रधानाध्यापक जयराज न्यौपानेले बताए ।
सो विद्यालयका निजी स्रोतका तीन जना शिक्षकले चार वर्षसम्म पाउनु पर्ने तलब नपाएर चाहिएको बेला समस्या टार्नका लागि मात्र रकम पाउने गरेको बताएका छन् ।
यसअघि अख्तिायार अनुसन्धान आयोगले जिल्लाका सामुदायिक विद्यालयको आम्दानी र खर्चको विवरण जिल्ला प्रहरी कार्यालयबाट सङ्कलन गरेको भए पनि हालसम्म सो नतिजा आउन नसकेको बताइएको छ ।
कालीकोट जिल्लामा शिक्षा क्षेत्रमा व्यापक लापर्बाही बढेकोप्रति अभिभावक जुर्मुराउन थालेको अखिल नेपाल शिक्षक सङ्गठनका जिल्ला अध्यक्ष देवराज चौलागाईंले बताए ।

प्रकाशित : २७ माघ २०७३, बिहिबार ००:००