४ जेष्ठ २०८१, शुक्रबार । May 17, 2024

Breaking

पशुपतिको बजेट पारित, मृगस्थली क्षेत्रमा शतबीज मार्ग बनाइने



काठमाडौं । पशुपति क्षेत्र विकास कोष सञ्चालक परिषद्को बैठकले आर्थिक बर्ष २०७९र८० को लागि प्रस्तुत कार्यक्रम र बजेट पारित गरेको छ ।

संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयमा परिषद्का अध्यक्ष एवम् पर्यटनमन्त्री जीवनराम श्रेष्ठको अध्यक्षतामा बसेको वैठकमा कोषाध्यक्ष नारायणप्रसाद सुवेदीले ९६ करोड ८४ लाख ४७ हजार रुपैंया बजेट प्रस्तुत गर्नुभएको थियो । बजेटमा मृगस्थली क्षेत्रमा शतबीज मार्ग निर्माणलाई प्राथमिकता दिइएको छ । पशुपति क्षेत्रमा बालाचतुर्दशीको अवसरमा शतबीज छर्न बाला चतुर्दशी मेला लाग्ने गरेको छ । शतबीज मार्ग निर्माण तथा व्यवस्थापन गरी सो क्षेत्रलाई पर्यटकीय आकर्षणको केन्द्रका रुपमा विकास गर्न लागिएको मन्त्री श्रेष्ठले बताउनुभयो ।
कोषको नीति, कार्यक्रम र बजेटमा फोहर व्यवस्थापन एवं सरसफाइको व्यवस्था, खानेपानी र स्नान गर्ने पानीको व्यवस्थापन, आर्यघाट व्यवस्थापन तथा मलामी बस्ने स्थानको व्यवस्था, पार्किङ क्षेत्र व्यवस्थापनलाई प्राथमिकता दिइएको छ । जीर्ण बनेका भौतिक संरचना निर्माण, मन्दिरका बहुमूल्य निधीको संरक्षण र संवर्द्धनलाई कोषले प्राथमिकता दिएको सदस्य(सचिव डा। मिलन कुमार थापाले बताउनुभयो । वैठकमा पशुपति क्षेत्र विकास कोष सञ्चालक परिषद्ले निर्माण गरेको गुरुयोजनालाई छिट्टै अन्तिम रुप दिनेबारे पनि छलफल भएको थियो । गुरुयोजनाबाट पशुपति क्षेत्रको संस्कृति र सम्पदाको संरक्षण हुनुका साथै अन्तर्राष्ट्रिय धार्मिक तथा आकर्षक पर्यटकीय गन्तव्यको रुपमा विकास हुने मन्त्री श्रेष्ठले बताउनुभयो । पशुपति क्षेत्रलाई धार्मिक पर्यटनको केन्द्रका रूपमा विकास गर्नुपर्नेमा जोड दिनुहुँदै मन्त्री श्रेष्ठले पशुपतिनाथमा हुने मेला तथा दर्शन गर्न सहज र व्यवस्थित गर्नुपर्ने बताउनुभयो ।
पशुपति क्षेत्र विकास कोषका लागि चालु आर्थिक बर्षमा नेपाल सरकारबाट विभिन्न २६ वटा पुँजीगत कार्यक्रम संचालन गर्न २४ करोड बजेट बिनियोजन भएको तथा कोषको आन्तरिक स्रोतबाट कोष कार्यालय, पशुपति मन्दिर र घाट सेवाका लागि २० करोड ७० लाख पुँजीगत खर्चको लागि बजेट व्यवस्थापन गरिएको कोषाध्यक्ष सुवेदीले बताउनुभयो ।

प्रकाशित : २३ भाद्र २०७९, बिहिबार ००:००