११ श्रावण २०८१, शुक्रबार । July 26, 2024

Breaking

नेपाल स्काउटको ७२ औं स्थापना दिवस सम्पन्न



नेपाल स्काउटको ७२ औं स्थापना दिवस मुल समारोह कार्यक्रम आज मिति २०८० असार ५ गते मंगलबार का दिन नेपाल स्काउट परिसरमा सम्माननिय निर्वतमान राष्ट्रपति श्रीमती बिद्यादेवी भण्डारी ज्यूको प्रमुख आतिथ्यमा सम्पन्न भएको छ ।

कार्यक्रममा काठमाडौं उपत्यकाभित्रका स्थानीय स्काउट संरक्षकज्यूहरु श्री मिठाराम अधिकारी (नगर प्रमुख, बुढानिलकण्ठ नगरपालिका), श्री गजेन्द्र महर्जन (नगर प्रमुख, गोदावरी नगरपालिका), स्थानीय स्काउट प्रमुख श्री बसन्ती श्रेष्ठ (नगर उपप्रमुख, चन्द्रागिरी नगरपालिका), श्री समिता श्रेष्ठ (नगर उपप्रमुख, शंखरापुर नगरपालिका) ज्यूहरुको पनि उपस्थिति रहेको थियो ।

कार्यक्रममा उपस्थित प्रमुख अतिथी विशिष्ठ अतिथिहरु लगायत उपस्थित सबैमा स्वागत गर्दै नेपाल स्काउटका राष्ट्रिय तदर्थ समितिका संयोजक श्री लोक वहादुर भण्डारी ज्यूले नेपाल स्काउटले एक वर्षमा गरेका कार्र्यहरुको सक्षिप्त जानकारी गराउनुभएको थियो । नेपाल स्काउटले समाजमा व्याप्त जल्दोबल्दो सामाजिक समस्याहरुमा अग्र मोर्चामा उभ्याएको कुरा जानकारी गराउदै महिला हिँसा विरुद्धको अभियान, बालबालिका तथा किशोरीहरुको शसक्तिकरण, लागुऔषध दुर्वयसनी विरुद्धको जनचेतना, विपद् व्यवस्थापन लगायत कार्यमा नेपाल सरकारको आधिकारिक स्वयंसेवी संस्थाको रुपमा स्वयंसेवक परिचालन, युवा सशक्तिकरण गर्ने सशक्त संगठनको रुपमा कार्य गर्दै आइरहेको बताउनुभयो ।

प्रमुख अतिथिको रुपमा राष्ट्रपतिले नेपाल स्काउटको ७२ औं स्थापना दिवसको अवसरमा आयोजित समारोहमा नेपाल स्काउटको बार्षिक पुस्तिका विमोचन पश्चात सम्बोधन गर्दै सम्माननिय निर्वतमान राष्ट्रपति श्रीमती बिद्यादेवी भण्डारी ज्यूले बालबालिका तथा युवाहरूको शारीरिक, मानसिक एवं बौद्धिक विकासका साथै उनीहरूलाई अनुशासित, स्वावलम्बी र चरित्रवान तुल्याई सेवा भावनाको अभिवृद्धि गर्दै राष्ट्र निर्माणमा समर्पित गराउने उद्देश्यका साथ नेपाल स्काउटको स्थापना भएको ७२ वर्ष पुगेको अवसरमा सर्वप्रथम, नेपाल स्काउटको ७२औं स्थापना दिवसको यस अवसरमा म सम्पूर्ण स्काउट सदस्यहरूमा हार्दिक बधाई तथा शुभकामना व्यक्त गर्नु भएको थियो । नेपाल स्काउटको वर्तमान नेतृत्वले देशका सातै प्रदेश र ७५३ वटै स्थानीय तहसम्म संगठनलाई बिस्तार गरी स्काउटलाई गाँउ शहर सबैतिर पुर्‍याउन सफल भएको थाहा पाउँदा खुसी लागेको बताउदै यो आफैमा एउटा ऐतिहासिक उपलब्धी रहको र सो उपलब्धीका निम्ति नेपाल स्काउटको वर्तमान नेतृत्वलाई बधाई दिनुभएको थियो ।

चालु आर्थिक वर्षमा मात्र पैँतीस हजारभन्दा बढी युवा स्काउट स्वयं‌सेवकहरु परिचालन भएको जानकारी पाउँदा अत्यन्त प्रशंसनीय कार्य गरेको, कोभिड–१९ महामारी नियन्त्रणमा पनि नेपाल स्काउटले उल्लेखनीय भूमिका खेलेको, देशमा आइपर्ने हरेक प्राकृतिक एवं अन्य विपद्को समयमा विपद् व्यवस्थापन र प्रभावितहरूको उद्धार कार्यमा पनि नेपाल स्काउट सदैव अग्रमोर्चामा खटिएको, लगायत विशेष गरी, महिला हिंसा विरुद्धको अभियान, किशोरी शसक्तिकरण र स्वास्थ्य सचेतना, महिला उद्यमशीलता र महिला नेतृत्व विकाससँग सम्बन्धित कार्यलाई प्राथामिकताका साथ सञ्चालन गरेकोमा नेपाल स्काउटसँग अत्यन्त प्रभावित भएको बताउनुभयो । यसैगरि विभिन्न अन्तर्राष्ट्रिय कार्यक्रमहरू नेपालमा आयोजना हुनु, नेपालका बालबालिका तथा युवाहरूले उल्लेखनीय संख्यामा अन्तर्राष्ट्रिय कार्यक्रममा सहभागिता जनाउनु, सुशासन र सदस्यता वृद्धिमा एसियाकै उत्कृष्ट सदस्य राष्ट्र बन्न सफल हुनु, विश्व स्तरको लेखा तथा व्यवस्थापन परीक्षणमा सफल हुनु जस्ता कुरा नेपाल स्काउटका लागि मात्र नभई सिंगो राष्ट्रकै लागि गौरवको कुरा भएको बताउदै अन्तमा नेपाल स्काउटका पदाधिकारी लगायत संपूर्ण स्काउट सदस्यहरूलाई ७२औं स्थापना दिवसको यस अवसरमा पुःन हार्दिक बधाई तथा उत्तरोत्तर प्रगतिको कामना ब्यक्त गनुभएको थियो ।

मुल समारोह कार्यक्रममा नेपाल स्काउटका निर्देशक राम प्रसाद भट्टराईले बार्षिक प्रगति प्रतिबेदन प्रस्तुत गर्दै स्काउटको विकास र विस्तारमा सम्पुर्ण प्रशिक्षक, स्काउटर र स्वयंसेवक, साझेदार संस्था र निकायहरु सबैमा धन्यबाद दिनुभएको थियो । निरन्तर पन्ध्रबर्ष सेवा गर्नुभएको सक्रिय स्काउटरहरुलाई गत बर्ष घोषणा गरिएका दिर्घ सेवा पदक वितरण गरिएको थियो । यसै गरि यस वर्ष पनि दिर्घ सेवा पदक, सुनौंलो गैंडा, रुपौला कटुस, प्रशंसनीय आचरण पदक, उत्कृष्ट कर्मचारी पुरस्कार र उत्कृष्ट प्रदेश पुरस्कार घोषणा भएको थियो । कार्यक्रममा नेपाल स्काउटको विकास र विस्तारमा उल्लेखनीय योगदानको उच्च कदर स्वरुप उपस्थित उपत्यकाभित्रका स्थानीय स्काउट संरक्षकज्यूहरु नगर प्रमुख, उपप्रमुख लगायत शिक्षा शाखा प्रमुखहरुलाई कदर पत्र प्रदान गरिएको थियो । समारोहमा उपत्यकाभित्रका स्थानीय स्काउटहरुले विभिन्न भाँकीहरु र सांस्कृतिक कार्यक्रम लगायत विपद् व्यवस्थापन ड्रिल अभ्यासको प्रर्दशनी गरिएको थियो । यसैगरी देशका सातै प्रदेश र ७५३ वटै स्थानीय तहहरूमा विभिन्न कार्यक्रमहरू गरी नेपाल स्काउटको ७२ औं स्थापना दिवस मनाइएको छ ।

 

प्रकाशित : ६ असार २०८०, बुधबार ००:००