६ श्रावण २०८१, आइतबार । July 21, 2024

Breaking

सुदूरपश्चिममा पनि प्रदेशको नाम फेर्न माग



धनगढी । कोशी प्रदेश खारेजी गरि पुनः नामांकनको विषय पेचिलो बन्दै गएको बेला सुदुरपश्चिममा पनि प्रदेशको नाम परिवर्तन गर्नु पर्ने माग उठेको छ ।

नागरिक उन्मुक्ति पार्टीले सुदूरपश्चिम प्रदेशको पुनः नामांकनको माग गरेको हो । उन्मुक्ति पार्टीले अहिलेको सुदुरपश्चिम नाम खारेज गरि ‘खप्तड थरुहट’ राख्न माग गरे ।

आइतबार प्रदेशसभा बैठकमा नागरिक उन्मुक्ति पार्टीका नेता प्रदेशसभा सदस्य लक्ष्मणकिशोर चौधरीले प्रदेशको नाम असान्दर्भीक भएकाले संशोधन गरेर ‘खप्तड थरुहट’ राख्नु पर्ने बताए ।

चौधरीले भने ‘सुदर शब्दले राज्य, समुदाय र प्रदेशबाट समेत टाढा राखिएको महसुस भएकोले प्रदेशको संस्कृती र पहिचान झल्कने नाम खप्तड थरुहट खान्नु पर्छ ।’

प्रदेशसभाको लोगो संशोधन समर्थन गर्दै चौधरीले लोगो मात्र होइन प्रदेशको नाम नै असान्दर्भिक भएकाले हामी शंसोधनको माग गछौ ।सुदूरपश्चिम प्रदेश सभाले नयाँ लोगो प्रदेश सभा सदस्य पदमबहादुर शाहीको संयोजकत्वमा संशोधन समिति गठन गरेको छ ।

राज्यको पुनर्संरचनाका क्रममा सुदूरपश्चिममा थरुहट र अखण्ड सुदूरपश्चिमको आन्दोलन सुरु भएको थियो । आन्दोलन चर्किदै जाँदा ०७२ भदौ ७ मा टीकापुरमा घटना । टीकापुर घटनामा तत्कालीन सेती अञ्चल प्रहरी प्रमुख एसएसपी लक्ष्मण न्यौपानेसहित ८ प्रहरी र एक बालकको मृत्यु भएको थियो ।

घटनाका भोलीपल्ट रेशम लगायत थारु समुदायको सयौँ घरमा लुटपाट भएको थियो । टीकापुर घटनाको योजनाकारको रुपमा रेशमलाल चौधरीलाई जन्मकैद तोकेको थियो ।

घटनाको मुख्य योजनाकारको रुपमा आरोप लागेपछि उनी फरार भए । भूमिगत अवस्थामै २०७४ मंसिरमा भएको चुनावमा वारिसनामाबाट उम्मेदवारी दिए र विजयी भए ।

टीकापुर घटनामा जन्मकैद सजाय भोगिरहेका रेशमलाल चौधरी भर्खरै गणतन्त्र दिवसको अवसरमा छुटेका छन् । त्यहि आन्दोलनको जगमा जन्मिएको पार्टी नागरिक उन्मुक्ति अहिले केन्द्रीय सरकारमा समेत सत्ता साँझेदार छ । सुदुरपश्चिम पुनः नामाङ्कन आफ्नो पार्टीको एक मुख्य अजेण्डा रहेको प्रदेश सभा सदस्य चौधरीले एभरेष्टलिक्ससंग उल्लेख गरे ।

प्रकाशित : २८ जेष्ठ २०८०, आइतबार ००:००