११ बैशाख २०८१, मंगलबार । April 23, 2024

Life Style

बैंकबाट कर्जा लिई सौर्य ऊर्जा जडान



कञ्चनपुर, १६ माघ । बिना धितो निर्धन उत्थान बैंक लिमिटेड झलारी शाखा कार्यालयबाट कर्जा लिई १९४ जनाले सौर्य ऊर्जा प्रणाली जडान गरेका छन् ।
समूह जमानीका आधारमा बैंकबाट कर्जा लिई झलारी पिपलाडी, बेदकोट र कृष्णपुरका बासिन्दाले सौर्य ऊर्जा प्रणाली जडान गरेका हुन् ।
बढ्दो विद्युतभार कटौतीबाट छुटकारा पाउनका लागि बैंकले गठन गरेका समूहमा आबद्ध सदस्यहरुले रातका बेला घर उज्यालो पार्न, रेडियो, टिभी चलाउन, चिसोमा पानी तातो बनाउन, खाना पकाउन हिटर चलाउन र हेन्डपम्पमा जडान गरेको विद्युतीय मोटरबाट पानी निकाल्नका लागि सौर्य ऊर्जा प्रणालीको सदुपयोग गर्र्र्दै आएका छन् ।
“समूहका आर्थिक रुपमा अतिविपन्न परिवारको छनोट गरी वार्षिक १६ प्रतिशत ब्याजमा सौर्य ऊर्जा प्रणाली जडान गर्नका लागि कर्जाका रुपमा रु ७७ लाख ६० हजार रकम परिचालन गरेका छौँ” – बैंकका शाखा प्रबन्धक रामज्ञा रामले बताए।
उनहाँका अनुसार सौर्य प्रणालीको सदुपयोग गर्दै आएका सदस्यहरुलाई जनही रु ३५ हजारदेखि रु ४० हजारका दरले कर्जाको रकम प्रदान गरिएको छ ।
कर्जाको रकम सरल २४ किस्ताका रुपमा दुई वर्षभित्रै चुक्ता गर्ने सीमा निर्धारण गरिएको छ । बैंकबाट कर्जा लिई सौर्य ऊर्जा प्रणाली जडान गरेकी दीपनगरकी बेलुदेवी चुनाराले बढ्दो विद्युतभार कटौतीबाट छुटकारा पाएको बताइन्।
सौर्य ऊर्जा प्रणालीको उपयोग गर्न थालेपछि विद्युत्को महसुलसमेत थोरै मात्र बुझाउँदै आएका छौँ, उनले भनिन् – “विद्युत् नहुँदा पनि घर सधैँ उज्यालो हुने भएकाले निकै सहज भएको छ ।”
“विद्युतको अभावमा मट्टीतेलको टुकी, दियो र मैनबती बालेर उज्यालो पार्ने दिनको अन्त्य सौय ऊर्जा प्रणाली जडानले गरिदिएको छ”
बेदकोट नगरपालिकाको वसन्तथलाकी नितु रावतले विगतमा विद्युत् जडान गर्ने खर्च नहुँदा टुकी र लालटेनको सहारामा बस्दै आएको उल्लेख गर्दै भने – “बैंकले गठन गरेको समूहमा आबद्ध भई बिना धितो जमानीका आधारमा कर्जा पाएपछि सौर्य ऊर्जा प्रणाली जडान गरी घर उज्यालो पारेका छौँ ।” विद्युतको अभाव सौर्य ऊर्जाले पूरा गरेको उनको भनाइ छ ।
बैंकमा अझै सौर्य ऊर्जा जडानका लागि सय बढी समूहमा आबद्ध सदस्यले माग गरेका छन् ।
सौर्य ऊर्जा र गोबरग्यास जडानका लागि ३ सय ९४ सदस्यलाई बैंकले रु एक करोड २९ लाख ४० हजार रकम लगानी गरेको छ ।

प्रकाशित : १६ माघ २०७३, आइतबार ००:००