५ श्रावण २०८१, शनिबार । July 20, 2024

मुख्य खबर

स्ववियु निर्वाचन आचारसंहिता जारी



काठमाडौँ । त्रिभुवन विश्वविद्यालयले आगामी फागुन १४ गते हुने स्वतन्त्र विद्यार्थी युनियन ९स्ववियु० निर्वाचनका लागि ‘निर्वाचन आचारसंहिता’ जारी गरेको छ ।

निर्वाचनलाई स्वच्छ र मर्यादित बनाउनका लागि त्रिविले आज आचारसंहिता जारी गरेको विद्यार्थी कल्याण तथा खेलकुद निर्देशनालयका कार्यकारी निर्देशक गङ्गाबहादुर थापाले जानकारी गराए ।

आचारसंहिताअनुसार निर्वाचनका क्रममा विद्यार्थी सङ्गठनले आफ्नो पक्षमा मत जुटाउनका लागि कुनै तडकभडक प्रचारप्रसार गर्न नपाउने भएका छन् ।

उहाँले क्याम्पसको निर्वाचन समितिले क्याम्पसमा नै सबै उम्मेदवारलाई एउटै मञ्चमा राखी परिचयात्मक कार्यक्रम गरेर चुनावको आफँै प्रचारप्रसार गरिदिने बताए ।

उहाँकाअनुसार आचारसंहितामा क्याम्पसको कम्पाउन्ड वालको बाहिर पट्टी, भित्र पट्टी र क्याम्पस परिसरमा वाल पेन्टिङ, निर्वाचनसम्बन्धी तुल, फ्लेक्स र कुनै पनि प्रकारको पोस्टर टाँस्न नपाइने व्यवस्था छ ।

यसैगरी, उम्मेदवारले आफ्नो निर्वाचन घोषणा पत्र र उम्मेदवारको नामावलीको ए फोर साइजको एक रङ्ग भएको पर्चा मात्रै प्रचारप्रसार गर्न पाउने र क्याम्पस हाताभित्र माइकबाट कुनै पनि प्रकारको प्रचारप्रसार गर्न नपाइने उल्लेख गरिएको छ ।

फागुन १४ गते हुने स्ववियु निर्वाचनमा पहिलो पटक त्रिविले २८ वर्षे उमेर हदबन्दी र मिश्रित निर्वाचन प्रणाली अपनाउन थालेको छ ।

प्रकाशित : १६ माघ २०७३, आइतबार ००:००