१८ बैशाख २०८१, मंगलबार । May 1, 2024

Life Style

गर्भवतीले छुटाउनै नहुने ६ कुरा



गर्भावस्थालाई संवेदनशील अवस्था मानिन्छ । आफू र बच्चाको स्वास्थ्यका लागि यो समयमा गर्भवती स्वयं र परिवारका सदस्य बढी नै सजग हुनुपर्छ । स–साना गल्तीले पनि आमा र बच्चाको स्वास्थ्य जोखिममा पर्न सक्छ । प्रसूति तथा स्त्रीरोग विशेषज्ञ प्रा.डा. जागेश्वर गौतमले गर्भवती महिलाले नियमित रुटिनमा छुटाउनै नहुने ६ कुराबारे जानकारी गराएका छन्ः

१गर्भवती महिलाले शारीरिक सरसफाइमा सामान्य अवस्थामा भन्दा बढी नै ख्याल गर्नुपर्छ । बिहान उठ्नेबित्तिकै हरेक दिन व्यक्तिगत शारीरिक सफाइ गर्नुपर्छ । यो अवस्थामा शारीरिक सफाइ नहुँदा आमा र पेटभित्रको बच्चामा विभिन्न रोगको संक्रमण हुन सक्छ ।

२ गर्भावस्थामा सामान्य समयको जस्तो खानपानले पुग्दैन । पोषिलो आहारमा जोडबल गर्नुपर्छ । विशेषतः झोलयुक्त खानेकुरा खानुपर्छ । झोलयुक्त खानेकुराको कमी भएर पाठेघरमा पानीको मात्रा कम हुँदा बच्चाको विकासमा असर पुग्छ भने नर्मल जन्माउन पनि असहज हुन्छ ।

३ गर्भवती महिलाले आइरन, क्याल्सियमजस्ता औषधि नियमित सेवन गर्नुपर्छ । तर, आफूखुसी होइन, चिकित्सकको सल्लाहमा । अन्य कुनै औषधि सेवन गर्नुपरे पनि चिकित्सकको सल्लाहमा
मात्रै गर्नुपर्छ ।

४सामान्य अवस्थाको सुताइले गर्भवती महिलालाई आराम पुग्दैन । निद्रा पूरा नहुँदा स्ट्रेस बढ्ने र आमा–बच्चा दुवैलाई असर पर्ने हुन सक्छ । त्यसैले गर्भवतीले रातको समयमा आठ घन्टा र दिनमा दुई घन्टा अनिवार्य सुतेर आराम गर्नुपर्छ ।

५गर्भावस्थामा सधैँ सकारात्मक कुरा मात्रै सोच्नुपर्छ । नकारात्मक कुराले दिमागमा घर जमाउनु हानिकारक हुन्छ । नकारात्मक सोचाइले ब्लडप्रेसर बढ्नेलगायत मानसिक समस्या निम्तिन सक्छ ।

६ गर्भवती महिलाले सामान्य खालको शारीरिक कसरत तथा हिँडडुल नियमित गर्नुपर्छ । तर, शारीरिक तथा मानसिक रूपमा कडा खालको परिश्रम भने गर्नु हुँदैन । कडा परिश्रम गर्दा समय नपुगी बच्चा जन्मने तथा बच्चा र आमाको स्वास्थ्यमा जोखिम पर्ने हुन सक्छ ।

नयाँ पत्रिकाबाट

प्रकाशित : २ कार्तिक २०७३, मंगलबार ००:००